सुमन भोम्जन प्रतिष्ठानको मेलाको तयारी तीव्र
हेटौंडा, १२ कात्तिक/यही मंसिर २ गतेदेखि १३ गतेसम्म हेटौंडामा आयोजना गर्न लागिएको खेलकुद महोत्सवका लागि हेटौंडा–१० मा रहेको टिम्बर कर्पोरेशन अफ नेपाल (टिसिएन)को खाली जग्गामा मेला स्थल निर्माण कार्य तीव्र रुपमा अघि बढेको छ ।
प्रतिष्ठानको आयोजनामा हुन लागेको देशमै पहिलो खेलकुद महोत्सवका लागि स्थल निर्माणको काम धमाधम रुपमा काम सुरु भएको हो । यसअघि हुप्रचौरमा हुने भनिएको मेला जिल्लाका राजनीतिक दलहरुले सहमति गरी हुप्रचौरमा मेला नगर्ने जनाएपछि हुप्रचौरको विकल्पको रुपमा टिसीएनमा मेला आयोजन गर्न लागिएको हो । हेटौंडा उपमहानगरपालिकाको भोगाधिकारभित्र रहेको उक्त जग्गामा मेला गर्न राजनीतिक दलहरु सहमत भएस“गै मेला स्थल निर्माण थालिएको हो । उपमहानगरपालिका र दलहरु समहत भए पछि बिहीबारबाट काम थालिएको हो । मेला स्थल निर्माणको सम्पूर्ण जिम्मेवारी सुमन भोम्जन स्मृति खेलकुद प्रतिष्ठानले लिएको प्रतिष्ठानका अध्यक्ष भेष खड्गीले बताए । खेलकुद महोत्सवको आयोजना गर्ने तयारीमा रहेको सुमन भोम्जन खेलकुद प्रतिष्ठानले महोत्सव स्थल निर्माणको काम एक साताभित्र सक्ने लक्ष्य लिएको छ ‘तिहारअघि महोत्सव स्थल निर्माणको काम सकिने लक्ष्य लिएका छौं तिहार लगत्तै महोत्सवका लागि संरचनाहरु निर्माण गर्ने काम सुरु हुन्छ । हामी मेला निर्धारित समयमा नै गर्ने तयारीमा लागिसकेका छौं ।’
अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता आयोजनाका लागि आवश्यक आर्थिक स्रोत समेत जुटाउने लक्ष्यसहित प्रतिष्ठानले मेला आयोजना गर्ने तयारी गरिरहेको प्रतिष्ठानका अध्यक्ष भेष खड्गीले बताए ।
मेला स्थल निर्माण कसले गर्ने भन्ने अन्यौलकाबीच प्रतिष्ठानले आफ्नै खर्चमा मेलास्थल निर्माणको काम सुरु गरेको हो । हेटौंडा बजारस“गैको १५ विगाहा जमिन हेटौंडा उपमहानगरपालिकाले ४० वर्षका लागि भोगाधिकार पाएको छ । उक्त क्षेत्रमा मेलास्थल निर्माण गर्न सबैले आग्रह गरेपछि उक्त स्थानमा मेला आयोजना गर्न लागिएको प्रतिष्ठान महासचिव सविन न्यौपानेले जानकारी दिए । यसअघि खेलकुद महोत्सव हुप्रचौरमा गर्ने निर्णय भएको थियो । प्रतिष्ठानले हुप्रचौरमा मेला गरेबापत् १० लाख रुपिया“ तिर्ने प्रतिवद्धता जनाएको थियो । महोत्सवमा कम्तिमा ५ खेलको राष्ट्रिय प्रतिष्पर्धा हुनेछ । यसका लागि खेलाडी तथा प्रशिक्षकहरुस“ग छलफल भइरहेको बताइएको छ । सबै खेलकुद संघहरुले सहयोग गर्न तयार रहेको बताएका छन् । हुप्रचौर संरक्षणका लागि चर्को दबाब आएपछि सरोकारवालाहरुले महोत्सव नगर्ने निर्णय गरेका हुन् ।
मेलाबाट संकलित रकम कोष बनाएर खेलाडी तथा पत्रकारको हकहितका लागि खर्च गर्ने प्रतिष्ठानले जनाएको छ । महोत्सवमा राष्ट्रिय खेलकुद प्रतियोगितासहित स्टलहरु रहने बताइएको छ । महोत्सवले प्रतिष्ठानको कोष वृद्धिमा सहयोग पुग्ने आयोजकको विश्वास रहेको छ ।
