बजार अनुगमनमा तीव्रता
हेटौंडा, ४ कात्तिक/बजार अनुगमन समितिले नजिकि“दो चाडपर्वलाई लक्षित गर्दै बजार अनुगमनलाई तिव्रता दिएको छ ।
स्थानीय प्रशासनले हेटौँडाका विभिन्न किराना पसलहरुमा अनुगमन गरेको छ । तिहारमा खपत हुने तेल, घ्यू,
नरिवल लगायतका अन्य उपभोग्य वस्तुहरुमा व्यवसायीले मिसावट तथा म्याद सकिएको वस्तुहरु विक्री गर्न सक्ने भन्दै नियन्त्रणको निम्ति स्थानीय प्रशासनको सक्रियतामा बुधबार र बिहीबार हेटौंडा बजार अनुगमन भएको हो ।
क्षेत्रीय खाद्य तथा गुण नियन्त्रण कार्यालयको अगुवाइमा गएको टोलिले हेटौंडा बजार क्षेत्रको पाँचवटा होलसेल किराना पसलमा अनुगमन गरेको छ । अनुगमन टोलिले हेटौंडा–४ स्कुलरोडमा रहेको हीरालालको किराना पसल, माँ अन्जनी किराना पसल, बिक्रम साह किराना पसल र आयुषी किराना पसलमा अनुगमन गरेको हो । अनुगमनको क्रममा हीरालालको किराना पसलमा म्याद सकिएको घ्यू, चिया, पिठोलगायत कुहिएको भाइमसलाका सामान बरामद गरेको छ । यसैगरी अन्य स्थानहरुबाट कुहिएको नरिवल, पिठो र म्याद नाघेका घ्यू, तेल, ग्लुकोज, चकलेट जस्ता वस्तुहरु अनुगमन टोलीले जफत गरेको छ । क्षेत्रीय खाद्य प्रमुख राजकुमार रिजालको नेतृत्वको टोलीमा खाद्य निरिक्षक दिनेश ढुङ्गाना, घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख पुष्कर भट्टराई, नायब सुब्बा प्रणय अर्याल, जिल्ला प्रशासन कार्यालयका नायब सुब्बा केशव ढोडरी, उपभोक्ता हकहित संरक्षण मञ्चका सचिव बासु खतिवडा, राष्ट्रिय उपभोक्ता मञ्चका सचिव महेश अग्रवाल लगायतको सहभागिता थियो ।

