‘अब तरुण दलको महाधिवेशन सर्न हुन्न’
हेटौंडा, १२ कात्तिक/नेपाल तरुण दलका केन्द्रीय कार्यबहाक अध्यक्ष जन्मजय तिमल्सिनाले अब कुनै पनि बहनामा तरुण दलको महाधिवेशन सार्न नहुने बताएका छन् ।
तरुण दल हेटौंडा ३ नम्बर क्षेत्रीय समितिको आयोजनामा शुभ दीवापली, छठलगायतका पर्वको पूर्व सन्ध्यामा शुक्रबार बिहान हेटौंडामा आयोजना भएको चियापान एवम् शुभकामना आदानप्रदान कार्यक्रममा उनले यसअघि तोकिएको ३ वटा महाधिवेशन विना कारण रद्द भएको स्मरण गर्दै अब तोकिएकै समयमा हुनुपर्ने औंल्याए ।
तरुण दलको चौथो महाधिवेशन यही कात्तिक २७, २८ र २९ गते पोखरामा हुने कार्यक्रम तय भएको छ । ‘यसरी पटक–पटक महाधिवेशन सारिँदा युवाहरुमा नकारात्मक असर पर्न जान्छ’, तिमल्सिनाले भने–‘यस बिषयमा नेतृत्वले बेलैमा नसोचे संगठनमा समस्या नआउला भन्न
सकिन्न ।’ रेमिट्यान्सले मात्र अब मुलुक थेग्न नसक्ने भन्दै उनले युवाहरुलाई नेपालमै रोजगारीको व्यवस्था गर्नुपर्ने औंल्याए । समाजमा सकारात्मक प्रभाव पर्ने काम गर्नु तरुणको दायित्व भएको औंल्याउँदै उनले जनताको सुख–दुःखमा साथ दिएर अघि बढ्नको लागि कार्यकर्तालाई अनुरोध गरे ।
तरुण दल ३ नम्बर क्षेत्रीय अध्यक्ष सञ्जय श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा तरुण दल केन्द्रीय सदस्य ऋषि काफ्ले, पूर्व केन्द्रीय सदस्य विद्वान गुरुङ, नेपाली काँग्रेस महाधिवेशन प्रतिनिधि टेकनाथ शिवाकोटी, तरुण दल मकवानपुरका निवर्तमान सभापति सुनिल दाहाल, जिल्ला सभापति ईश्वर पाठक, तरुण नेता राजेश भेटवाललगायतले समसामयिक राजनीतिक अवस्था र तरुण दलको भूमिकालगायतको बिषयमा मन्तव्य व्यक्त गरेका थिए ।
कात्तिक २७, २८ र २९ गते पोखरामा हुने भनिएको तरुण दलको महाधिवेशनमा केन्द्रीय सदस्यको लागि मकवानपुरबाट राजेश भेटवाल, सुनिल दाहाल र शैलेन्द्र बानियाँ गरी ३ जनाको नाम चर्चामा रहेको छ ।

