हर्नामाडीमा नयाँ किसिमको रोपाईं सुरु
हेटौंडा, ११ मंसिर/यसअघि अन्तराष्ट्रिय मुर्तिकला कार्यशाला र चित्रकला कार्यशाला आयोजना भैसकेको हेटौंडाको हर्नामाडीमा शनिबारबाट नयाँ किसिमको रोपाईं सुरु भएको छ ।
नेपालमै पहिलो हर्नामाडीमा नयाँ किसिमको रोपाईं अर्थात रोपाईंको कला सुरु भएको हो । जापानका कलाशिल्पी सेत्चु सुजुकीको ताउऐ नेपाल परियोजना अन्तर्गत हर्नामाडी कला प्रतिष्ठानको संयोजनमा हेटौंडा–२५ हर्नामाडीस्थित बेलघारीमा २ बिगाहा खेतमा कलाको रोपाईं सुरु भएको हो । शनिबारबाट सुरु भएको कलाको रोपाईं १३ गतेसम्म सञ्चालन हुने बताइएको छ । खेतमा ३ दिन फरक फरक किसिमको कला प्रश्तुत गरिने छ ।
धान रोप्नको लागि गरिने तयारी झैं यस कार्यको लागि पनि त्यही किसिमको तयारी गरिएको थियो । स्थानीयले गाउँदै र नाच्दै जापानीज शिल्पिकारहरुलाई स्वागत गरेका थिए । खेतमा करिब १३ सय वटा लौरो रोपिने छ । हर्नामाडी कला प्रतिष्ठानका अध्यक्ष हर्क रम्तेलका अनुसार खेतमा मुकुण्डो लगाइएको साँढे ३ फिट अग्लो र ३ इञ्च चौडाई भएको रातो रङको लौरोमा फरक फरक आकृति एवम् ढाँचा दिइनेछ । हर्नामाडी कला प्रतिष्ठानका अध्यक्ष रम्तेलको अध्यक्षतामा भएको कलाको रोपाई उद्घाटनमा सृजना फाइन आर्टका संयोजक नविन्द्रराज भण्डारी, नेपाल ताउऐ परियोजनाका उपाध्यक्ष ताईसुके मोरियामा, राजनीतिक दलको तर्फबाट राप्रपाका शम्भु भण्डारी, मुख्य शिल्पिकार सेत्सु सुजुकीलगायतले मन्तव्य व्यक्त गरेका थिए ।
नेपालको लागि नै यो पहिलो र नौलो किसिमको कार्यक्रम भएको भन्दै उनीहरुले सबैको सहयोग आवश्यक रहेको बताएका थिए । रोपाईंमा सहभागी स्थानीयले असारे गीत तथा भजन गाउँदै नाचेका थिए । उनीहरुको नाचसंगै जापनीज कलाकार तथा सृजना फाइन आर्टका विद्यार्थी स्वयम्सेवकहरुले साथ दिएका थिए ।

