१६ जनामा डेंगु फेला
हेटौंडा, २१ कात्तिक/ मकवानपुरमा एक महिनाको अन्तरालमा १६ जनामा डेंगु रोग फेला परेको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ ।
उनीहरुमा डेंगुको सामान्य लक्षण भेटिएको जनस्वास्थ्य निरीक्षक भोला चौलागाईले बताए । डेंगु संक्रमितहरु सामान्य उपचारपछि घर फर्किएका उनको भनाई छ । डेंगुको संक्रमण कम हुने बेला भएपनि दशैंको समय वर्षा हुँदा मकवानपुरमा भने संक्रमण भएकाहरु बढी भेटिएको उनले जानकारी दिए । एडिज जातको लामखुट्टेले रोगी मानिसलाई टोकेपछि त्यहीँबाट डेंगु रोग फैलिन्छ । फोहोर पानीमा उक्त लामखुट्टेले हुर्किने गर्दछ । डेंगुका लक्षणहरुमा टाउको तथा शरीर दुख्नु, रुघाखोकी लाग्ने हुन्छ । आन्तरिक रक्तश्राव भए त्यसलाई डेंगुको कडा लक्षण मानिन्छ । डेंगुको खास उपचार भने नभएको जनस्वास्थ्य निरीक्षक चौलागाईले बताए ।
उनका अनुसार प्रयोगमा नआएका सफा पानीलाई समय समयमा फेरिरहने, पानी भरिएका खाडलहरु पुर्ने र घर वरपर सरसफाई गर्नाले लामखुट्टे कम लाग्ने र डेंगुबाट बच्न सकिन्छ ।

