हेटौंडा सिमेन्टका अध्यक्ष न्यौपानेको स्वागत
हेटौंडा, ९ मंसिर/हेटौंडा सिमेन्ट उद्योगका नवनियुक्त अध्यक्ष रघुरमण न्यौपानेलाई उद्योगमा क्रियाशील ट्रेड युनियनहरुले स्वागत गरेका छन् ।
नेपाल कारखाना श्रमिक संघ, समग्र उद्योग ट्रेड युनियन नेपाल र नेपाल राष्ट्रिय कर्मचारी संगठनको संयुक्त आयोजनामा बिहीबार स्वागत तथा बधाई कार्यक्रम गरिएको हो । स्वागत कार्यक्रममा उद्योगका अध्यक्ष न्यौपानेले ट्रेड युनियनहरुको उद्योगप्रतिको व्यवहार सकारात्मक रहेको भन्दै उद्योगको गतिविधिहरुको बारेमा बुझेर आगामी रणनीति तय गरिने बताए । एक हातले ताली नबज्ने भन्दै अध्यक्ष न्यौपानेले कर्मचारी र व्यवस्थापनबीचको सहकार्यमा जोड दिए । नेपाल कारखाना श्रमिक संघ अध्यक्ष सीता गिरीको अध्यक्षतामा भएको कार्यक्रममा समग्र उद्योग ट्रेड युनियन नेपालका अध्यक्ष विनोद लामिछाने, नेपाल राष्ट्रिय कर्मचारी संगठनका अध्यक्ष दीपकसिं थोकर, उद्योगका महाप्रवन्धक प्रेमशंकर सिंह, नायवमहाप्रवन्धक अलताफ अहमद, बिरेन्द्र महासेठलगायतले उद्योगको स्थिति र समस्याहरुको बारेमा जानकारी गराएका थिए ।

