जेसीज कप राजनीतिक दलस्तरीय फुटबल स्थगित
हेटौंडा/हेटौंडा जेसीजको आयोजनामा प्रत्येक बर्ष सञ्चालन हुँदै आएको राजनीतिक दल स्तरीय जेसीज कप फुटबल प्रतियोगिता स्थगित भएको छ ।
यही मंसिर १४ गतेबाट गर्ने भनिएको यस बर्षको प्रतियोगिता जेसीजका संस्थापक अध्यक्ष गोपीकृष्ण गोर्खालीको मृत्यु भएकोले स्थगित भएको हो । ‘हाम्रा संस्थापक अध्यक्षको निधनको कारण हामीले १४ गतेबाट सञ्चालन गर्ने तयारी गरेको राजनीतिक दलस्तरीय जेसीज कप फुटबल प्रतियोगिता केही समयको लागि स्थगित गरेका छौं’, अध्यक्ष धर्मराज बानियाँले भने, ‘मकवानपुरको फुटबल इतिहासमा नयाँ आयामको रुपमा लिइएको यस प्रतियोगिताको मिति केही समयपछि घोषणा गर्नेछौं ।’ मकवानपुरका राजनीतिक दलबीच भ्रातृत्वको विकास गर्ने र जेसीज तथा राजनीतिक दलबीच सुमधुर सम्बन्ध स्थापित गर्ने उद्देश्यका साथ हेटौंडा जेसीजले राजनीतिक दलस्तरीय जेसीज कप फुटबल प्रतियोगिता आयोजना गर्दै आएको छ ।

