कलाकारले दिलाए भरपुर मनोरन्जन
हेटौंडा, ९ मंसिर/गत बर्षबाट सुरु भएको हेटौंडा गोल्डकपलाई निरन्तरता दिने र यहाँका सञ्चारकर्मी एवम् खेलकर्मीको हितमा काम गर्ने उद्देश्यका साथ हेटौंडामा सञ्चालन भइरहेको राष्ट्रिय खेलकुद तथा बृहत् व्यापार महोत्सव–२०७३ अन्तर्गत् सातौं दिनमा बिहीबार नेपालका चर्चित पप गायक विजय लामा र भरत सिटौंलाले मेलाका अवलोकनकर्तालाई भरपुर मनोरञ्जन दिएका छन् ।
सुमन भोम्जन स्मृति खेलकुद प्रतिष्ठानको आयोजनामा हेटौंडा–१० स्थित आँखा अस्पताल पछाडीको खाली जग्गा (भूटनदेवी पार्क) मा औद्योगिक शान्ति नेपाल संस्थासंगको सहकार्यमा जारी राष्ट्रिय खेलकुद तथा वृहत् व्यापार महोत्सव–२०७३ अन्तर्गत् बिहीबार लामा, सिटौलास“गै रमेशराज भट्टराई, छिरिङ शेर्पा तथा हास्यकलाकार दर्शनेको प्रस्तुतीले सबैको मन जितेको थियो । मेलामा बिहीबार विजय लामा, भरत सिटौलाको लोकपप शैलीको गीतम नाच्नेहरुको बेलुकासम्म भीड लागेको थियो । आयोजकले मेलामा रातीको समयमा पनि मनोरञ्जनात्मक क्रियाकलाप सञ्चालनका लागि तयार पारेको आकर्षक स्टेजका लाइटको कारण साँझको समयमा पनि दैनिकजसो सांगीतिक कार्यक्रम भइरहेको छ ।
सातौं दिनसम्ममा करिब ६ करोड ५० लाख रुपियाँको कारोबार भएको र करिब एकलाख ४० हजार जनाले मेला अवलोकन गरिसकेको बताइएको छ । नेको इन्स्योरेन्स पावर्ड बाईको रुपमा रहेको महोत्सव विहीबारमात्र करिब २० हजार जनाले अवलोकन गरेको बताइएको छ । तीन सय ५० वटा स्टल रहेको महोत्सवमा महिला भलिबलमा सशस्त्र प्रहरी र न्यू डायमण्ड क्लबबीच मैत्रीपूर्ण खेल तथा शारीरिक सुगठनको जिल्लास्तरीय खेल प्रदर्शनी हुन बाँकी रहेका छन् । यसअघि म्याराथन, तेक्वान्दो र कुस्ती खेल भइसकेको महोत्सवका खेलकुद संयोजक सविन भट्टाचार्यले बताए । महोत्सवमा राखिएका अधिकांश स्टलहरुमा विशेष छुट तथा आकर्षण छन् । मनोरञ्जनात्मक बाल उद्यान, स्थानीय तथा राष्ट्रिय कलाकारको बेजोड सांगीतिक प्रस्तुति भइरहेको छ । महोत्सव भरमा करिब दुई लाख ५० हजार जनाले अवलोकन गर्ने र १० करोड बराबरको कारोबार हुने आयोजकले अनुमान छ ।
महोत्सवमा लोपोन्मुख राउटे जातिको प्रदर्शनी विशेष छ । बाल उद्यानअन्तर्गत् चाँदतारा र टोराटोरा यस महोत्सवको लागि नयाँ खेल हुन् । महोत्सवमा सहभागी हुनेहरुको संख्या बढिरहेको र केही दिन महोत्सवको समय बढाउनुपर्छ भन्ने आम मकवानपुरबासीको माग आइरहेको बताउँदै आयोजक प्रतिष्ठानका अध्यक्ष भेष खड्गीले मेलाको समय लम्ब्याउने विषयमा औपाचारिक निर्णय नभएको २ वा ३ दिन महोत्सव लम्बिन सक्ने बताए ।

