कुस्ती हेर्नेको भीड
हेटौंडा, ९ मंसिर/मकवानपुरमा पहिलो पटक बिहीबारदेखि हेटौंडामा कुस्तीको प्रतिस्पर्धा सुरु भएको छ । सुमन भोम्जन स्मृति खेलकुद प्रतिष्ठानको आयोजनामा हेटौंडामा जारी राष्ट्रिय खेलकुद तथा बृहत् व्यापार महोत्सव–२०७३ मा बिहीबारबाट सुरु भएको कुस्ती हेर्नेको भीड लागेको छ ।
हेटौंडामा अन्तर्राष्ट्रिय पुरुष तथा महिला कुस्ती प्रतियोगिता भएको हो । प्रतियोगितामा नेपाल र भारतबाट प्रतियोगितामा महिला तथा पुरुष खेलाडीहरु सहभागी छन् । खुला रुपमा भइरहेको प्रतियोगितामा दक्षिण एसियाली खेलकुदमा ख्याति प्राप्त खेलाडी छन् । दक्षिण एसियामा ख्याति प्राप्त खेलाडीहरु प्रतियोगितामा सहभागी रहेको र मेलाको विशेष आकर्षणको रुपमा रहेको कुस्ती हेर्नेको व्यापक भीड लागेको बताउँदै आयोजक प्रतिष्ठानका प्रथम उपाध्यक्ष सविन भट्टाचार्यले कुस्ती हेर्ने मौका नगुमाउनका लागि आम मकवानपुरबासीमा अनुरोध गरे ।
उनका अनुसार हेटौंडा–१० स्थित भुटनदेवी पार्कमा जारी प्रतिस्पार्धामा करिब २० जना खेलाडी सहभागी छन् । विशेषगरी नेपाली र भारतीय कुस्तीबाजहरुले एकआपसमा ‘च्यालेन्ज’ गरेर भिडेको प्रतिस्पर्धा हेर्न मेला भर्न आउनेहरु लालायित देखिन्छन् । कतिपय मेला भर्न आएकाहरुले कुस्तीबाजको प्रतिस्पर्धा मन पराएर ‘टिप्स’स्वरुप रकम दिइरहेका थिए । विविध समस्याले गर्दा भारतबाहेक अन्य देशका खेलाडी ल्याउन नसकिएको आयोजकले जानकारी दिएको छ । ‘भारत र नेपालीबीचकै भिड्न्त भएपनि आकर्षक र प्रतिस्पर्धी हुने अपेक्षा हामीले राखेका छौं’, मेला आयोजक समितिका अध्यक्ष भेष खड्कीले भने, ‘मेलाको मुख्य आकर्षण मध्येको एक यो कुस्ती पनि भएकोले यसलाई नछुटाउनको निम्ति सबैलाई अनुरोध गर्न चाहन्छु ।’ कुस्तीको उद्घाटनमा मकवानपुर जिल्ला खेलकुद विकास समिति अध्यक्ष माधव तिमिल्सना, उपाध्यक्ष दिपेन्द्र ढकाल, नेपाल पत्रकार महासंघ पूर्वकेन्द्रीय सदस्य प्रताप बिष्टलगायतले आतिथ्यता रहेको थियो ।

