खेलकुद महोत्सवको तयारी तीव्र
हेटौंडा, १७ कात्तिक/ आगामी मंसिर २ गतेदेखि १३ गतेसम्म हेटौंडाको टीसीएन मैदानमा सञ्चालन हुने सुमन भोम्जन स्मृति खेलकुद प्रतिष्ठानको आयोजनामा खेलकुद महोत्सव तथा व्यापार मेला –२०७३ को तयारी तीव्र पारिएको छ ।
आयोजक प्रतिष्ठानका अध्यक्ष भेष खड्गीको अध्यक्षतामा बसेको कार्यसमितिको पूर्ण बैठकले मेला सफलतापूर्वक सम्पन्न गर्न अध्यक्ष खड्गीको संयोजकत्वमा मूल आयोजक समिति तथा विभिन्न १९ वटा उपसमितिहरु गठन गरेको छ ।
जसअन्तर्गत् खेलकुद प्रतियोगिता व्यवस्थापन उपसमिति संयोजकमा सविन भट्टाचार्य, हेटौंडा गट ट्यालेन्ट (गायन तथा नृत्य) प्रतियोगिताको लागि विशाल घोष, सचिवालय व्यवस्थापन तथा उद्घाटन÷ समापन समारोह व्यवस्थापन उपसमितिमा सविन न्यौपाने, स्टल व्यवस्थापनमा राजन रसिक, आर्थिक व्यवस्थापनमा डेबिन श्रेष्ठ, सुरक्षा व्यवस्थापनमा सानु लामा, टिकट÷पास व्यवस्थापनमा सुदीप राजबाहक, विद्युत्÷बाल उद्यान व्यवस्थापनमा राजन खरेल, सरसफाई तथा पिउने पानी व्यवस्थापनमा रुपक थापा, स्वास्थ्य तथा आकस्मिक सेवामा दीपेन्द्र ढकाल, स्टेज व्यवस्थापन तथा उद्घोषणमा मणिराज गौतम, खाना÷आवास व्यवस्थापनमा विशाल महत, यातायात व्यवस्थापनमा विकेशलाल श्रेष्ठ, प्रचारप्रसार उपसमितिमा गणेशदर्पण अधिकारी, खेलाडी/पूर्वखेलाडी पहिचान तथा सम्मान उपसमितिमा सुविन घिमिरे, पुरस्कार/मायाको चिनो र सम्मान उपसमितिमा सनि भट्टाचार्य र स्थानीयबासी संगको समन्वयका लागि मदन लामालाई जिम्मेवारी तोकिएको छ ।
पार्किङ व्यवस्थापन गर्न भने स्थानीय क्लब वा टोल विकास संस्थालाई दिने निर्णय बैठकले गरेको महासचिव सविन न्यौपानेले जानकारी दिए । उनका अनुसार खेलकुद महोत्सव भएकाले कम्तिमा चार वटा राष्ट्रियस्तरको खेलकुद प्रतियोगिता मेलास्थलमै हुने र व्यापार मेलाअन्तर्गत् सोही स्थानमा तीनसय ५० वटा व्यापारिक स्टल रहनेछ । दैनिक स्थानीय कलाकारहरुबाट नृत्य तथा गायन प्रतिभा प्रस्तुत गर्नुका साथै दैनिकरुपमा राष्ट्रिय कलाकारहरुबाट साँगीतिक प्रस्तुति रहने उनले बताए ।
मेला आयोजक समितिमा जिल्लाका सबै सांसद्हरु, राजनीतिक दलका प्रमुखहरु, मकवानपुर उद्योग वाणिज्य संघ, नारायणी यातायात व्यवसायी संघ, निर्माण व्यवसायी संघ मकवानपुर, उद्योग संघ मकवानपुर, जिल्ला खेलकुद विकास समिति, नेपाल पत्रकार महासंघ, लोकतान्त्रिक (हुप्रचौर) व्यवस्थापन समितिका अध्यक्षलाई सल्लाहकार चयन गरिएको महासचिव न्यौपानेले जानकारी दिए । ‘नेपालमै पहिलोपटक हामीले सधैं हुँदै आएको व्यापार महोत्सवमा राष्ट्रिय प्रतियोगिता थपेर महोत्सव आयोजना गर्न लागेका छौं’, मूल समारोह समितिका संयोजक खड्गीले यसमा खेलकुद क्षेत्र, स्थानीयबासी र जिल्लाबासी सबैको सहयोगको अपेक्षा रहेको बताए । ‘यो मेलाबाट भएको आम्दानीबाट मकवानपुरकै गौरबको रुपमा रहेको हेटौंडा इन्टरनेशनल गोल्डकप फुटबल प्रतियोगितामा लगानी गरिनेछ’, अध्यक्ष खड्गीले खेलकुदको विकास, खेलाडीलाई सहयोग र पत्रकारहरुको लागि दीर्घकालीन सोचका साथ मेला आयोजना गरिएको बताए ।
महोत्सवका लागि मकवानपुरमै पहिलोपटक हेटौंडा–१० टीसीएनस्थित मैदान सरसफाईको काम सकिएको अध्यक्ष खड्गीले बताए । ‘हुप्रचौरमा महोत्सव आयोजना नगर्न स्थानीयबासी र राजनीतिक दलसमेतले गरेको आग्रहलाई स्वीकार गरेर हामीले टीसीएनमा गर्न लागेका हौं’, अध्यक्ष खड्गीले यसलाई सफल बनाउन सबै पक्षले सहयोग गर्ने विश्वास व्यक्त गरे । महोत्सवका लागि बारबेर र स्टल निर्माणको काम भोलि शुक्रबारदेखि सुरु हुने अध्यक्ष खड्गीले बताए ।

