बन्दले जनजीवन प्रभावित
हेटौंडा, २८ कात्तिक/नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादी आइतबार आव्हान गरेको नेपाल बन्दका कारण मकवानपुरको जनजीवन प्रभावित भएको छ ।
खाद्य सम्प्रभूताको माग राख्दै थरिएको नेपाल बन्दमा हेटौंडासहित देशभरका प्रमुख शहर तथा राजमार्गमा सार्वजनिक सवारी साधन न्यून मात्रामा चलेका कारण यात्रु समस्यामा परेका छन् । बन्दको कारण मकवानपुरको शिक्षण संस्थाहरु, औद्योगिक प्रतिष्ठानसहित मुख्य बजार क्षेत्रका व्यवसाय बन्द भएका
थिए । बन्दका कारण साना सवारीमात्र दिनभर हेटौंडा बजार क्षेत्रमा चले । भाडाका तथा सार्वजनिक सवारी भने चलेनन् । बन्दका कारण बजारमा चहलपहल समेत घटेको थियो । बन्दको क्रममा कुनै अप्रिय घटना नभएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । बन्दको समयमा उद्योग सञ्चालन गरेको भन्दै माओवादीका कार्यकर्ताहरुले हेटौंडाको बर्जर र एसियन पेन्टस्मा तोडफोडको प्रयास गरेका छन् । उनीहरुले ढुङ्गा तथा केही खाली बोटल प्रहार गरेको औद्योगिक सुरक्षा बलले जनाएको छ । मकवानपुरका प्रहरी प्रवक्ता बामदेव गौतमले बन्दको प्रभाव मकवानपुरमा सामान्य परेको बताउँदै कुनै अप्रिय घटना भने नभएको बताए । यता माओवादी मकवानपुरका सेक्रेटरी बीरबहादुर घलान ज्वालाले पार्टीको आयोजनामा भएको नेपाल बन्द शान्तिपूर्ण र सफल भएको बताए । उनले बन्दलाई शान्त र मर्यादित बनाउन सबैको सहयोग भएको बताउँदै भने, ‘देशैभर दलाल सरकारको निर्देशनमा पक्राउ परेका सयाँै नेता–कार्यकर्ताहरुको स–सम्मान रिहा गर्न जोडदार माग गर्दछौं ।

