२ वर्षमा पनि पूर्णता पाएन मउवासंघको कार्यसमितिले
छिट्टै टुङ्गिन्छ ः अध्यक्ष न्यौपाने
हेटौंडा, २१ कात्तिक/मकवानपुर उद्योग वाणिज्य संघमा राजकुमार न्यौपानेको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको करिब २ वर्ष पुग्न लागिसकेको छ ।
संघको ४८ औं वार्षिक साधारणसभाबाट नयाँ नेतृत्व चयन भएसंगै निकै विवादको बिषय बन्दै आएको कार्यसमितिको जिम्मेवारी बाँडफाटले अझै पूर्णता पाउन नसक्दा चोकचौतारामा चियागफको बिषय त भएको छ नै, कार्यसमितिकै पदाधिकारीहरुले समेत खुलेआम असन्तुष्टि जनाउन थालिसकेका छन् । हालसम्म मनोनित ३ वटा पदको टुङ्गो नलागेको भन्दै कार्यसमिति सदस्यबाटै गुनासो आइरहेको छ ।
संघको विधान अनुसार मनोनित गर्नुपर्ने २ सचिव र १ सहकोषाध्यक्ष पदको टुङ्गो लगाउन बाँकी रहेको छ । गत वर्ष भएको ४९ औं बार्षिक साधारणसभाको बन्दसत्रको समयमा अध्यक्ष न्यौपानेले १ महिनाभित्रमा उक्त पदको टुङ्गो लगाउने प्रतिबद्वता जनाएको भएपनि ५० औं वार्षिक साधारणसभाको मिति तोक्ने बेला भैसक्दा समेत बाँकी पदको टुङ्गो नलाग्नु दुखद् भएको उनीहरुको भनाई छ । ‘अब हाम्रो कार्यकाल जम्मा एक बर्ष बाँकी रहेको छ । कार्यसमितिले पूर्णता नपाउँदा अध्यक्षको मात्र नभै सबैको बेइज्जत हुने कुरा हो’, कार्यसमिति सदस्य रविन्द्र घिमिरेले भने, ‘एकजनाको कारण सबै कार्यसमिति नै असफल हुनु भएन भन्ने हाम्रो भनाई
हो ।’
हो ।’
यस्तै अर्का कार्यसमिति सदस्य राजेश बानियाँले गत बर्षको बार्षिक साधारणसभामा अध्यक्षले बढीमा एक महिनामा बाँकी पदको टुङ्गो लाग्छ भनेपनि आजसम्म नटुङ्गिनु लज्जास्पद भएको बताए । ‘अध्यक्षज्यूले बोलेको पनि हो । बोलेको कुरा खै किन कार्यान्वयन नगरेको हो अध्यक्षलाई नै थाहा होला’, बानियाँले भने, ‘कार्यसमितिले सकेको सहयोग गरेकै हो । दुईतीन जना भन्दा बढी कार्यसमितिका मानिसलाई मान्छे नै नगनेको कारण उहाँलाई पनि कसैले नगनेको होला ।’ जिम्मेवारी पदमा बसेको मान्छेले चाँडो भन्दा चाँडो निर्णयमा पुग्नु आवश्यक रहेको उनको धारणा छ । कार्यसमिति सदस्य अनिल अग्रवालले अध्यक्ष न्यौपानेले एकजना व्यक्तिलाई बोकेर हिंडेको र उनैलाई सचिव पद सुम्पिन खोजेकोले समस्या सृजना भएको बताए । ‘छिटो भन्दा छिटो बाँकी पद टुङ्ग्याउने भन्ने कुरा थियो ।
अध्यक्षले पनि एकजना मात्र बोकेर हिँडेको जस्तो देखिएको छ’, अग्रवालले भने, ‘पुराना सदस्य मध्ये कसैलाई बाँकी पदको जिम्मा दिए हुने हो ।’ यता मउवा संघ अध्यक्ष राजकुमार न्यौपानेले बाँकी पदको छिनोफानो गर्ने बिषयमा धेरै पटक छलफल भैसकेको बताउँदै अब केही समयमा नै २ सचिव र १ सह कोषाध्यक्षको टुङ्गो लाग्ने जवाफ दिए । ‘यसअघिको साधारणसभामा सभाषद्हरुले यस बिषयमा कुरा उठाएको पनि हो, मैले त्यही बेलामा नै समय आएपछि हुन्छ भनेको थिएँ’, उनले भने, ‘विधानमा पनि यति नै समयमा सबै पदको टुङ्गो लगाउनुपर्छ भन्ने कतै छैन । अब छिट्टै टुङगिनेछ ।’ कार्यसमिति सदस्यको बीचमा नै विवाद रहेको कारण यो बिषय निष्कर्षमा पुग्न नसकेको अध्यक्ष न्यौपानेको भनाई छ ।
आफू अध्यक्षमा निर्वाचित भएर आएदेखि नै कार्यसमितिबाट राम्रो साथ र सहयोग नपाएको भन्दै उनले यो बिषयले साधारणसभा अगाडी नै टुङ्गो लिन सक्ने बताए । आज सोमबार हुने मउवा संघको नियमित बैठकमा ५० औं बार्षिक साधारणसभाको मिति तोक्ने बिषयमा छलफल हुँदैछ । पदाधिकारीको टुङ्गो नलगाई साधारणसभाको मिति तोक्नु उपयुक्त नहुने कार्यसमिति सदस्यहरुको तर्क छ ।
