इमान्दारिताको एक नमूना
भेटिएको पैसा फिर्ता
हेटौंडा, २२ कात्तिक÷बाटोमा हि“ड्दै गर्दा तपाईंले एकलाख रुपियाँ भेट्नुभयो भने के गर्नुहुन्छ ? प्रायः धेरैको उत्तर सजिलै आउनसक्छ, ‘दायाँबायाँ मान्छे हेरेर कसैले थाहा नपाउने गरी खुसुक्क खल्ती (पकेट) मा हाल्छु ।’ तर हेटौंडाका एक युवाले भेटेको एकलाख रुपियाँ प्रहरीलाई बुझाई सम्बन्धित मानिससम्म पु¥याएका छन् ।
सोमबार दिउँसो नविल बैंक अगाडि एकलाख रुपियाँ फेला पारेका हेटौंडा–३ का विश्वास श्रेष्ठले उक्त रकम
प्रहरीलाई बुझाए । सधैँ मोटरसाइकलमा हि“ड्ने विश्वास सोमबार अफिसकै कामले अर्का एकजना साथीस“ग पैदल नै हि“डिरहेका थिए । नविल बैंक अगाडिबाट बाटो काट्ने क्रममा हजार–हजारको नोटको एक गड्डीमा उनको आँखा पुग्यो ।
उनले पैसा हातमा लिए र नजिकै भएकाहरुलाई सोधे ‘यो पैसा तपाईंको हो ?’ कसैले पनि हो नभनेपछि उनले त्यो रकम प्रहरीलाई बुझाइदिए । विश्वासले आफूले एकलाख रुपियाँ भेटेर प्रहरीलाई बुझाएको बारे चिनजानका मानिसलाई पनि भने । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेड हेटौंडामा कार्यरत उनी भन्छन्, ‘अरु दिन बाइकमा हिंड्ने म आजै (सोमबार) बाइक नलिइ हि“डेको थिएँ, पैसा भेट्टाउनु रैछ ।’ धेरैले भेट्टाएको रकम वा मालसामान फिर्ता गर्दैन नि ? भन्ने प्रश्नमा प्रदेश दैनिकस“ग कुराकानी गर्दै विश्वासले भने, ‘त्यस्तो सोच आएन, मान्छेले निकै दुःख गरेर कमाएको हुन्छ पैसा,भर्खरै मात्र दशैं, तिहार, छठलगायतका पर्व सकिएको छ । जसको पैसा हो, उसले पाओस् भन्ने चाहना थियो, प्रहरीको सहयोगमा मेरै हातबाट सम्बन्धित मानिसलाई पैसा फिर्ता दिन पाएँ, निकै खुसी लागेको छ ।’ यत्तिको खुसी अबका दिनमा अरु कामबाट सायदै नमिल्ला । हेटौंडा–५ निवासी श्रीराम पराजुलीले बैंकबाट ५ लाख रुपियाँ निकालेर घर जाँदै गर्दा बाटोमा एकलाख रुपियाँ खसेको थियो । उनले प्रहरीलाई रकम हराएको बारेमा जानकारी गराएका थिए । अनुसन्धानको क्रममा श्रेष्ठले भेट्टाएको रकम पराजुलीकै भएको प्रमाणित भएपछि जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक वेदप्रसाद गौतमले श्रेष्ठको हातबाटै रकम दिन लगाएका थिए । पैसा फिर्ता पाएका पराजुलीले निकै खुसी हुँदै भने,‘हराएको पैसा फिर्ता आउला भन्ने सोचेकै थिइन । पैसा भेट्टाउने भाई र मकवानपुरका प्रहरी निकै असल, इमान्दार रहेछन् ।’ महालक्ष्मी फाइनान्सबाट ५ लाख रुपियाँ झिकेका पराजुलीले भित्रको खल्तीमा राखेको पैसा मध्ये एकलाख झारेको बताए ।
‘पैसा हराएपछि छट्पटिदै हिंडेको थिएँ, स्कूलरोडमा व्यवसाय गर्दै आएका पिताम्बर ढकाललाई घटनाबारे बताउँदा उनले आत्तिन पर्दैन, तपाईंको पैसा प्रहरीले फेला पारिसकेको छ भन्नुभयो’, घटना बारे बताउँदै पराजुलीले भने, ‘त्यसपछि जिल्ला प्रहरी कार्यालयमा गयौं, प्रहरीले महालक्ष्मी फाइनान्समा गएर बुझेपछि मलाई पैसा फिर्ता दिनुभो ।’ पैसा भेट्टाएर फिर्ता दिएका विश्वास श्रेष्ठलाई पराजुलीले ५ हजार इनाम दिएका छन् । ‘हेटौंडाका मानिस निकै इमान्दार रहेछन भन्ने यो घटनाले देखाएको छ’, जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक वामदेब गौतमले भने, ‘पैसा हराएको २ घण्टापछि नै हामीले सम्बन्धित व्यक्तिलाई हराएको रकम फिर्ता गर्न सफल भएका छौं ।’

