आज सकिँदै खेलकुद तथा व्यापार महोत्सव
हेटौंडा, १४ मंसिर/सुमन भोम्जन स्मृति खेलकुद प्रतिष्ठानको आयोजनामा हेटौंडामा सञ्चालन भएको पहिलो खेलकुद तथा वृहत व्यापार महोत्सव आज बुधबार समापन हुँदैछ ।
भूकम्पमा निधन भएका खेल पत्रकार सुमन भोम्जनको स्मृतिमा गठन भएको प्रतिष्ठानले औद्योगिक शान्ति नेपालसंगको सहकार्यमा मंसिर २ गतेबाट महोत्सव सुरु गरेको थियो । गत बर्षबाट सुरु भएको हेटौंडा गोल्डकप फुटबल प्रतियोगितालाई निरन्तरता दिने र यहाँका सञ्चारकर्मी एवम् खेलकर्मीको हितमा काम गर्ने उद्देश्यका साथ महोत्सव आयोजना गरिएको हो ।
१३ गतेसम्म सञ्चालन हुने भनिएको महोत्सव आम मकवानपुरेको मागलाई ध्यानमा राख्दै २ दिन थप गरी १५ गतेसम्म सञ्चालन गरेको आयोजकले बताएको छ । महोत्सवको समापन तथा प्र्रमाणपत्र वितरण कार्यक्रम आज बुधबार दिउँसो साँढे २ बजे हुने आयोजक प्रतिष्ठानका अध्यक्ष भेष खड्कीले जानकारी दिए । ‘हाम्रो पहिलो प्रयासलाई आम मकवानपुरबासीको साथ, सहयोग र मायाले गर्दा सोचे भन्दा राम्रो सफल भएको छ’, खड्कीले भने, ‘महोत्सवलाई निरन्तरता दिने वा कसरी अघि बढ्ने बिषयमा भने हामी छलफलकै क्रममा रहेका छौँ ।’ महोत्सवमा स्टल राखेर व्यवसाय गर्न विभिन्न स्थानबाट आएकाहरु आफ्नो व्यापारप्रति निकै खुसी रहेको प्रतिष्ठानका महासचिव सबिन न्यौपानेले जानकारी दिए ।
‘पवित्र उद्देश्यले जुनसुकै स्थानमा महोत्सव सञ्चालन गरे पनि राम्रोसंग सञ्चालन हुँदो रहेछ, सबैको माया पाईंदो रहेछ भन्ने पुष्टि भएको छ’, महासचिव न्यौपानेले भने, ‘यो महोत्सवले सुमन भोम्जनको हाइट झनै माथि पु¥याएको छ र हामीलाई गोल्डकप फुटबललाई निरन्तर अघि बढाउन पनि पक्कै मद्दत गर्नेछ भन्ने हामीले विश्वास लिएका छौँ ।’ प्रतिष्ठानको आयोजनामा दोस्रो सुमन भोम्जन स्मृति हेटौंडा गोल्ड कप फुटबल यहि पुष १४ गतेबाट सञ्चालन हुँदैछ ।

