‘संविधान संशोधनमा कुरा मिलिसक्यो’
हेटौंडा, २१ कात्तिक/सांसद् रामनारायण बिडारीले संविधान संशोधनको विवाद लगभग टुङ्गिएको बताएका
छन् । हेटौंडामा पत्रकारहरु संग कुराकानी गर्दै बिडारीले अख्तियार आयोग प्रमुख लोकमानसिंह कार्कीलाई लगाइएको महाअभियोगमा काँग्रेसले समर्थन गर्ने र संविधान संशोधनको बिषयमा एमालेले समर्थन गर्ने सहमति भएको खुलासा गरे । अहिलेको व्यवस्था फेल गराउन लोकमान योजनाबद्व ढंगले लागेको कारण महाअभियोग लगाउन बाध्य भएको उनको भनाई छ ।
महाअभियोगको प्रस्तावमा आफूसहित माओवादीका सांसद्हरुले थाहा पाएर सही नगरेको खुलासा गर्दै उनले भने, ‘अर्कै प्रयोजनमा गरिएको हस्ताक्षर त्यहाँ प्रयोग गरिएको रहेछ । मैले पनि भोलिपल्ट मात्रै थाहा पाएको हुँ ।’ जसरी प्रयोग गरिएको भएपनि सही कामको लागि हस्ताक्षर प्रयोग भएको उनको आशय थियो । हिउँदे अधिवेशनबाट नेपालीले नयाँ मुलुकी ऐन पाउने सांसद् बिडारीले जानकारी दिए । महाअभियोग सिफारिस समितिका सदस्य समेत रहेका बिडारीले यो समिति लोकमानको लागि नबनेको दावी गरे । ‘धेरैले यो समिति लोकमानको लागि बनाएको भन्ने बुझेका छन् त्यो गलत हो’, उनले थपे, ‘यो सबैको लागि संधैको लागि स्थायी प्रकृतिको समिति हो ।’

