Header Ads


पीडितलाई क्षतिपूर्ति दिन युवाको माग

हेटौंडा, ६ मंसिर/मकवानपुरमा क्रियाशील ६ वटा राजनीतिक दल निकटको युवा दस्ताले करिब एक महिना अघि हेटौंडास्थित नापी कार्यालय रहेको भवनमा भएको आगलागी घटनाको पीडितलाई उचित उपचार र क्षतिपूर्ति दिनुपर्ने माग गरेका छन् । 
सोमबार संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै युवा दस्ताका अध्यक्ष एवम् प्रतिनिधिहरुले हेटौंडामा रहेको साहारा उद्योगको लापरबाहीका कारण उक्त घटना भएको दावी गर्दै घटनाको सत्यतथ्य छानबीन गर्न समेत माग गरिएको छ । ‘गत कार्तिक १० गते नापी कार्यालय भएको भवनमा साहारा ग्यास बिष्फोट हुँदा घटना भएको सर्वविदितै छ’, विज्ञप्तिमा भनिएको छ, ‘५० जना भन्दा बढी घाइते तथा अंगभंग भएको र भौतिक संरचनाको समेत क्षति भएको उक्त घटनाको बिषयमा प्रशासन मौन रहनु गम्भीर कुरा हो ।’ 
घाइते सेवाग्राही, कर्मचारी र सर्वसाधारणको औषधी उपचार, क्षतिपूर्ति र राहतको लागि पटक पटक उद्योग र प्रशासनमा अनुरोध गर्दा समेत त्यसको कुनै सुनुवाई नभएको भन्दै यस बिषयलाई वास्ता नगरिए कडा भन्दा कडा आन्दोलन गर्ने सम्मको चेतावनी दिइएको छ । यसअघि पनि कमानेको गोकुल दाहालको घरमा र हुप्रचौरस्थित आगमन भाजा पसलमा साहारा ग्यास पड्किएको भन्दै युवा दस्ताका प्रमुखहरुले घटनाको सत्यतथ्य छानबिन गर्न माग गरेका छन् । काँग्रेसको युवा दस्ता तरुण दल मकवानपुर अध्यक्ष ईश्वर पाठक, एमालेको युवा संघ नेपाल अध्यक्ष सन्तोष चौलागाईं, राप्रपा नेपालको राष्ट्रिय प्रजातान्त्रिक युवक संगठन अध्यक्ष भृगु कार्की, मालेको प्रगतिशील युवा संघ अध्यक्ष विशाल महत, नयाँ शक्तिको राष्ट्रिय युवा अभियानका अध्यक्ष सुवोध रिमाल र माओवादीको राष्ट्रिय युवा जनस्वयमसेवक जिल्ला अध्यक्ष सुरेन्द्र घलानले हस्ताक्षर गरेको विज्ञप्तिमा नापी कार्यालयमा भएको घटनाको सत्थतथ्य छानबिन नभए आन्दोलन गर्ने चेतावनी दिएका हुन् ।

Powered by Blogger.