राउटको स्टलमा विशेष भीड
हेटौंडा/महोत्सवमा लोपोन्मुख राउटे जातिको प्रदर्शनीमा सर्वसाधारणको भीड लागेको छ ।
नेपालमा लोपोन्मुख जातिको रुपमा रहेको राउटे जातिको स्टलमा विशेष भीड लागेको आयोजकले जानकारी दिएको छ । ‘राष्ट्रिय खेलकुद तथा व्यापार महोत्सव नै नेपालको लागि सायद पहिलो नै हो’, आयोजक प्रतिष्ठानका महासचिव सविन न्यौपानेले भने, ‘यो स“गै मेलामा विशेष प्रदर्शनीको रुपमा राउटे जातिको स्टल रहेको छ । हामीले समाचारमा सुन्दै आएको यो राउटे जातिको रहनसहन अनि उनीहरुको अवस्था हेर्नेको घुइँचो लागेको देख्दा राउटेलाई मेलामा ल्याएर राम्रै गरेछौं भन्ने लागेको छ ।’ राउटे जाति घुमन्ते भएकोले उनीहरु एकै स्थानमा खुम्चिएर बस्न नसक्ने भन्दै महोत्सवका प्रचारप्रसार संयोजक गणेशदर्पण अधिकारीले उनीहरु महोत्सवको अन्तिम दिनसम्म महोत्सवमा नबस्न सक्ने भन्दै सबैलाई महोत्सवमा उपस्थित भएर राउटेको अवस्था हेर्न समेत अनुरोध गरे । स्टलबाट संकलन भएको रकमले राउटेलाई नै सहयोग गरिने आयोजकले जनाएको छ ।

