Header Ads


संविधान संशोधनको विरोधमा हेटौंडामा मालेको सभा

हेटौंडा, २२ मंसिर/पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले अगाडि सारेको संविधान संशोधनको विरोधमा माले मकवानपुरले हेटौंडामा विरोध सभा गरेको छ । 
बुधबार माले मकवानपुरले हेटौंडाको बुद्धचोकमा आयोजना गरेको विरोधसभालाई सम्बोधन गर्दै माले स्थायी कमिटी सदस्य तथा पूर्वभूमिसुधार मन्त्री डम्बर श्रेष्ठले सरकारले अगाडि सारेको संविधान संशोधन प्रस्तावलाई भारतीय डिजाइन भएको आरोप लगाए । संविधान संशोधन नेपालीहरुको बाध्यता भन्दा पनि भारतीय सन्तुष्टि पूर्तिका लागि गर्न लागेको भन्दै उनले कुनै पनि हालतमा संविधान संशोधन गर्न दिन नहुने बताए । 
श्रेष्ठले नेपालको तराईलाई दुईभागमा विभाजन गरेर भारतमा विलय गराउने भारतीय चलखेल अनुसार संविधान संशोधनको प्रस्ताव सरकारले ल्याएको आरोप लगाए । ‘नेपालको तराईको भू–भागलाई भारतमा गाभ्ने स्वार्थका कारण यो अवस्था सिर्जना भएको हो । 
त्यसरकाण यो संशोधनप्रस्तावको विरोध गर्नुको विकल्प छैन’, उनले यो सरकार भारतीय डिजाइन अनुसार बनेको टिप्पणी गरे । माले पोलिटव्युरो सदस्य पुण्य गौतमले पनि नेपालीको हितभन्दा बाहिर गएर संविधान संशोधन गर्न नहुने टिप्पणी गरे । उनले पनि अहिलेको सरकारलाई भारत परस्त भन्दै विरोध गरे । ‘यो सरकारले देशको हित गर्दैन भन्ने प्रमाणित भइसकेको छ । त्यसकारण अब सरकारले ल्याएको प्रस्तावको विरोधमा पनि आवाजहरु उठ्न थालिसकेका छन्’, उनले भने । 
माले मकवानपुर अध्यक्ष तथा केन्द्रीय सदस्य भीमसेन महतको सभाध्यक्षतामा कार्यक्रम भएको थियो । कार्यक्रममा माले मकवानपुरले संविधानको संशोधनको विरुद्धमा नाराबाजी समेत गरेका थिए ।
Powered by Blogger.