Header Ads


प्राइम पोलिक्लिनिकद्वारा विजय युथलाई प्रायोजन

हेटौंडा,  १३ पुस/आज बिहीबारबाट हेटौंडामा सञ्चालन हुन लागेको अन्तर्राष्ट्रिय आमन्त्रण हेटौंडा गोल्डकपमा सहभागी हुन लागेको घरेलु टोली विजय युथ क्लबलाई यसवर्ष प्राइम पोलिक्लिनिक हेटौंडाले प्रायोजन गरेको छ । 
गतवर्षको सिमरा गोल्डकप फुटबल प्रतियोगिता च्याम्पियन बन्न सफल विजय युथलाई हेटौंडा–१ मा रहेको प्राइम पोलिक्लिनिकले प्रायोजन गरेको हो । हेटौंडा गोल्डकप फुटबल र माघमा सिमरामा हुने आठौं सिमरा गोल्डकप प्रतियोगिताका लागि सहयोग गर्ने गरी दुवै पक्षबीच सहमति भएको छ । सहमतिअनुसार प्राइमले विजय युथलाई नगद दुईलाख रुपियाँ उपलब्ध गराउने र विजय युथले आफ्नो नामको अगाडि प्राइम पोलिक्लिनिक विजय युथ क्लब नाम कायम गर्नेछ । विजय युथ क्लब र प्राइम पोलिक्लिनिकद्वारा बुधबार आयोजित पत्रकार सम्मेलनमा हेटौंडा अर्थोपेडिकले पनि सहप्रायोजकको रुपमा दुई प्रतियोगिताका लागि ५० हजार रुपियाँ सहयोगको घोषणा गरेको छ । 
पत्रकार सम्मेलनमा प्राइमका सञ्चालक डा. बसिम राईले प्रतियोगितामा सफलताको कामना गरे । उनले आगामी वर्षमा पनि समिक्षा गरेर सहयोग गर्ने जानकारी दिए । अर्थोपेडिकका अविनाश दाहालले सहयोगसँगै क्लबको प्रगतिको कामना गरे । क्लबका अध्यक्ष सुदीप राजबाहकले क्लबले छोटो समयमा देशभर ख्याति कमाउन सफल भएको बताउँदै यसलाई कायम राख्नका लागि खेलको स्तर बढाउने बताए । उनका अनुसार हेटौंडा गोल्डकप र सिमरा गोल्डकपको लागि क्लबले खेलाडी अनुबन्धन गरिसकेको छ । पत्रकार सम्मेलनमा क्लबले आफ्नो खेलकुद किड्स समेत सार्वजनिक गरेको थियो । 
कार्यक्रममा क्लबका अध्यक्ष राजबाहक तथा प्राइमका बसिम राई, अर्थोपेडिकका अविनाश दाहाल, क्लब उपाध्यक्ष सुन्दर प्रधान, प्रशिक्षक सुविन घिमिरे, एन्फा मकवानपुर प्रशिक्षक विजयलाल श्रेष्ठ, जिल्ला खेलकुद विकास समिति मकवानपुर उपाध्यक्ष दीपेन्द्र ढकाल, टीम म्यानेजर राजेश भेटवाल, क्लबका कप्तान ध्रुब श्रेष्ठलगायतको आतिथ्यता रहेको थियो । 
Powered by Blogger.