मकवानपुर महिला समूहको सामाजिक लेखाजोखा
हेटौंडा, १३ पुस/ एचआइभी संक्रमित एवम् प्रभावितहरुको संस्था मकवानपुर महिला समूहले सञ्चालन गरेको कार्यक्रमको सामाजिक लेखाजोखा भएको छ ।
बुधबार हेटौंडामा एक कार्यक्रमको आयोजना गरी समूहले सञ्चालन गरेको सक्षम, समुदायको अगुवाईमा सामुदायिक पुनर्निर्माण, महिला महासंघलगायतको कार्यक्रमको लेखाजोखा गरिएको हो । समूहद्वारा सञ्चालित कार्यक्रमको प्रभावकारिता, खर्चलगायतको बिषयमा कार्यक्रम संयोजक निशा लामाले जानकारी गराएकी थिइन् । कार्यक्रमका सहभागीहरुले एचआइभीको क्षेत्रमा काम गर्ने संस्थाको कमी हुँदै गएको, मकवानपुर महिला समूह संक्रमित प्रभावितहरुको संस्था भएपनि उनीहरुको क्षेत्रमा काम हुन नसकेको, एचआइभी संक्रमितहरुको लागि छुट्टै उद्यमशिलता तालिम दिनुपर्नेलगायतका सल्लाह दिएका थिए । अध्यक्ष ईश्वर बानियाँको अध्यक्षतामा भएको सामाजिक लेखाजोखा कार्यक्रममा जिल्ला विकास समिति मकवानपुरका बरिष्ठ सामाजिक विकास अधिकृत रामकृष्ण थापा, हेटौंडा उपमहानगरपालिका कार्यालयका जगन्नाथ सापकोटा, ध्रुव भुजेल, गैसस महासंघ मकवानपुर अध्यक्ष कृष्ण धिताल, सेलर्डका जगन्नाथ सुवेदीलगायतले स्थानीय निकाय एवम् अन्य गैरसरकारी संस्थासंग समेत समन्वय गरी कार्य सञ्चालन गर्न समूहलाई अनुरोध गरेका थिए ।
कार्यक्रममा समूहका पदाधिकारी, समूहले सञ्चालन गरेको कार्यक्रमको कर्मचारी, विभिन्न सरकारी गैरसरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधी एवम् लाभान्वितहरुको उपस्थिती थियो ।
