Header Ads


आजबाट अन्तर्राष्ट्रिय हेटौंडा गोल्डकप फुटबल

हेटौंडा, १३ पुस/आज बिहीबारबाट हेटौंडामा दोस्रो अन्तर्राष्ट्रिय हेटौंडा आमन्त्रण गोल्डकप फुटबल प्रतियोगिता सुरु हुँदैछ ।
२०७२ बैशाख १२ गतेको भूकम्पमा निधन भएका मकवानपुरे खेलपत्रकार सुमन भोम्जनको स्मृतिमा गठन भएको प्रतिष्ठानको आयोजनामा सुरु हुँदै गरेको प्रतियोगिताको उद्घाटन खेल हेटौंडाको विजय युथ क्लब र काठमाण्डौंको सरस्वती क्लबको बीच हुने भएको छ । २३ गतेसम्म हेटौंडा–१० स्थित कृषि तथा वनविज्ञान अध्ययन संस्थान (फरेष्ट्री) को खेल मैदानमा हुने प्रतियोगितामा २ विदेशीसहित १० क्लबहरुले सहभागिता जनाउने भएका छन् ।
प्रतियोगितामा नेपालका चर्चित ६ वटा ‘ए’ डिभिजन क्लब, मोफसलका चर्चित २ क्लब र २ विदेशी क्लबको सहभागिता हुने निश्चित भएको आयोजकले जानकारी दिएको छ । मनाङ मस्र्याङ्दी, नेपाली आर्मी, नेपाल प्रहरी, सशस्त्र प्रहरीको (एपीएफ), संकटा, सरस्वती, मोफसलको सबभन्दा ठूलो धनराशी भएको सिमरा गोल्डकपमा गत बर्ष च्याम्पियन भएको हेटौंडाको विजय युथ क्लब, पोखरेली क्लब सहारा क्लब पोखराले सहभागी हुनेछन् । 
विदेशी क्लबमा भारतको दिल्लीको दिल्ली युनाइटेड तथा भुटानको ‘ए’ डिभिजन क्लब ड्रकेस्टारले सहभागिता जनाउने आयोजकले जानकारी दिएको छ । प्रतियोगिताको तयारी सबै सकिएको आयोजक प्रतिष्ठानका अध्यक्ष भेष खड्कीले जानकारी दिए । यस बर्षको प्रतियोगिताको मुख्य प्रायोजकको रुपमा गोर्खा ब्रुअरीज रहेको छ भने सह–प्रायोजक रेडबुल रहेको छ । प्रतियोगिताको विजेता र उपविजेताले क्रमश ः नगद ५ लाख र ३ लाख रुपियाँ प्राप्त गर्नेछन् । प्रतियोगिता सञ्चालनको लागि करिब ४५ लाख रुपियाँ खर्च लागने आयोजकको अनुमान रहेको छ । उत्कृष्ठ प्रशिक्षक, गोलरक्षक, डिफेन्डर, मिडफिल्डर तथा फरवार्डले जनही नगद १५÷१५ हजार रुपियाँ प्राप्न गर्ने छन् ।
Powered by Blogger.