मनहरी महोत्सव माघ १४ गते
हेटौंडा, ११ पुस/मकवानपुरको मनहरीमा आगामी माघ १४ देखि २४ गतेसम्म तेस्रो मनहरी महोत्सव हुने भएको छ ।
सोमबार हेटौंडामा पत्रकार सम्मेलन गर्दैै आयोजक मकवानपुर उद्योग वाणिज्य संघ पश्चिमी क्षेत्र समितिले महोत्सव बारे जानकारी दिएको हो । यस बर्षको महोत्सवको नारा ‘कृषि, पर्यटन र व्यापार, ग्रामीण विकासको पूर्वाधार’ तय गरिएको छ । मउवा संघ पश्चिमी क्षेत्र समिति सभापति गोविन्द रिजालले संघको भवन निर्माणको लागि महोत्सवको आयोजना गर्न लागिएको जानकारी दिए ।
महोत्सव सञ्चालनको लागि ४९ लाख रुपियाँ बराबर खर्च लाग्ने र ५५ लाख बचत गर्ने लक्ष्य राखिएको उनले जानकारी दिए । करिब २ सय वटा स्टल रहने महोत्सवमा २ लाख भन्दा बढीले अवलोकन गर्ने आयोजकले अनुमान गरेको छ । महोत्सवमा कृषि, हस्तकला, बाल उद्यान, बोटिङ, हात्ती सफारी, विभिन्न जनजाती, चेपाङ समुदायका भेषभुषा झल्किने प्रर्दशनीका साथै दैनिक राष्ट्रिय र स्थानीय कलाकारहरुको साँस्कृतिक प्रस्तुती रहने पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । यस्तै बहुराष्ट्रिय, राष्ट्रिय तथा साना उद्योगहरुको उत्पादन, सूचना प्रविधी, कृषि प्रविधी तथा उत्पादन, शैक्षिक परामर्श, घरेलु तथा हस्तकलाका सामग्री एंवम स्थानीय उत्पादनलाई जोड दिइने आयोजकले जानकारी दिएको छ ।
मकवानपुर उद्योग वाणिज्य संघ अध्यक्ष राजकुमार न्यौपानेले मनहरी महोत्सवले मुनाफा भन्दापनि त्यसक्षेत्रको पर्यटकीय क्षेत्रको सम्भावना खोजी गर्न सहयोग पु¥याउने भएकोले संघको तर्फबाट पूर्ण सहयोग रहने बताए । महोत्सवका लागि २१ वटा उपसमितिहरु निर्माण गरिएको छ ।

