Header Ads


कान्तिलोकपथ निर्माणमा पैसाको कमी हुँदैन ः मन्त्री लेखक

हेटौंडा, ११ पुस/भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री रमेश लेखकले हेटौंडा हुँदै ललितपुर पुग्ने कान्तिलोकपथ सडक निर्माणको लागि पैसाको कमी हुन नदिने बताएका छन् ।
मन्त्री लेखक, संसदीय विकास समिति सभापति रबिन्द्र अधिकारी, मन्त्रालयका सचिव, सांसदहरुलगायतको टोलीले सडकको अनुगमन गरेपछि हेटौंडामा आयोजित अन्तरक्रियामा लेखकले आवश्यक रकम सरकारले व्यवस्था गर्ने जानकारी दिए । ‘यस सडकको सुक्ष्म ढंगले अनुगमन हुनेछ । चाँडो काम सम्पन्न गराउनका लागि सरकारको तर्फबाट सकारात्मक सहयोग पनि रहनेछ’, उनले भने, ‘यसका लागि सबैले जिम्मेवार ढंगले काम गर्नु आवश्यक छ ।’  ५८ बर्षसम्म सामान्य मर्मतसंभारले मात्र सञ्चालन भैरहेको यस सडकलाई व्यवस्थित गर्नका लागि २ अर्ब खर्च हुने अनुमान रहेको मन्त्री लेखकले जानकारी दिए ।
२ अर्ब मध्ये मकवानपुर क्षेत्रमा ८५ करोड र बाँकी रकम ललितपुरतर्फ खर्च हुनेछ । आर्थिक बर्ष २०७४÷०७५ भित्रमा योजना सम्पन्न गर्ने लक्ष्य रहेको जानकारी दिंदै मन्त्री लेखकले यस कान्तिलोकपथको अधिकार क्षेत्र दायाबायाँ १५÷१५ मिटर रहने र ७ मिटर कालोपत्रे हुने बताए । यस्तै संसदीय विकास समिति सभापति रबिन्द्र अधिकारीले स्थानीयको चासो र लगाव नभएमा कुनैपनि योजना बेलैमा सम्पन्न नहुने भन्दै यसतर्फ ध्यान दिन अनुरोध गरे । आयोजनाको जिम्मा लिएकाले गम्भिरताका साथ काम गर्नुपर्ने धारणा राख्दै उनले निर्माण कम्पनीलाई जिम्मेवार ढंगले काम गर्न अनुरोध गरे । कान्तिलोक पथ आयोजना प्रमुख देवेन्द्र शाहका अनुसार बि।सं २०१३ सालमा निर्माण कार्य प्रारम्भ भएको सडक २०१५ का सेनाको सहयोगमा ट्रयाक खोल्ने काम सम्पन्न भएको थियो । हेटौंडाको बुद्धचोकबाट ललितपुरको सातदोबाटो सम्म जम्मा ९० किलोमिटर रहेको यस सडकको काम धमाधाम सञ्चालन भइरहेको उनले जानकारी दिए ।
Powered by Blogger.