बसामाडी बालश्रम मुक्त घोषणा
हेटौंडा, ११ पुस/हेटौंडा उपमहानगरको बसामाडी संयुक्त वडालाई बालश्रममुक्त घोषणा गरिएको छ ।
सोमबार एक कार्यक्रमकाबीच सांसद् अनन्त पौडेलले साविकको बसामाडी हाल हेटौंडाको २६, २७, २८ र २९ नम्बर वडालाई बालश्रममुक्त भएको घोषणा गरेका हुन् । घोषणापूर्व नेवारपानी तथा बसामाडीबाट निकालिएको ¥याली कार्यक्रम स्थल हेटौंडा–२८ लेवटको बालज्योति स्कूलमा पुगेको थियो । सांसद् पौडेलले बालबालिका कै उमेरमा मानिसको नेतृत्व, व्यक्तित्व तथा बौद्धिक विकास हुने भएकोले उनीहरुलाई काममा नभै विद्यालय पठाउनु आवश्यक रहेकोमा जोड दिए । बालबलिकाको सिक्ने उमेरमा कसैले बाधा पु¥याउन नहुनेमा उनको जोड थियो । कुनैपनि क्षेत्रमा बालश्रम प्रयोग भए तुरुन्त रोक्न आम जनतामा उनले आग्रह समेत गरे ।
हेटौंडा उपमहानगरपालिका कार्यालयका कार्यकारी अधिकृत कृष्ण पाण्डेले बालमैत्री स्थानीय सरकार बनाउनु आवश्यक रहेको धारणा राखे । महिला तथा बालबालिका कार्यालय प्रमुख शोभा शाह, हेटौंडा उपमहानगरपालिका कार्यालयका सामाजिक विकास महाशाखा प्रमुख भीम तिमल्सिना, बालकल्याण समाज मकवानपुरका कार्यक्रम संयोजक प्रकाश खतिवडा, प्लान इन्टरनेशनलका राम खत्रीलगायतले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रम निकृष्ट बालश्रममुक्त घोषणा अभियान बसामाडीका संयोजक शालिकराम अधिकारीको अध्यक्षतामा भएको हो । हेटौंडा उपमहानगरलाई आगामी असार मसान्तसम्ममा निकृष्ट बालश्रममुक्त नगर घोषणा गर्ने तयारीका साथ काम भैरहेको छ । प्लान नेपालसंगको सहकार्यमा बालकल्याण समाज मकवानपुरले हेटौंडालाई निकृष्ट बालश्रम मुक्त निर्माणको लागि होप कार्यक्रम सञ्चालन गरिररहेको छ । अब हेटौंडाको वडा नम्बर १, २, ३, ४, ५ र १० नम्बर वडा मात्र बालश्रम मुक्त घोषणा हुन बाँकी रहेको छ ।

