हेटौंडा गोल्डकपको लागि मैदान तयार
हेटौंडा, ११ पुस÷सुमन भोम्जन स्मृति खेलकुद प्रतिष्ठानको आयोजनामा यही पुष १४ गतेबाट सञ्चालन हुन लागेको दोस्रो अन्तर्राष्ट्रिय आमन्त्रण हेटौंडा गोल्डकप फुटबल प्रतियोगिताको तयारी अन्तिम अवस्थामा पुगेको बताइएको छ ।
आयोजक प्रतिष्ठानले सोमबार प्रतियोगितास्थल हेटौंडाको कृषि तथा वन विज्ञान विश्वविद्यालय (फरेष्ट्री) को मैदानमा पत्रकार सम्मेलनको आयोजना गर्दै आज मङ्गलबारसम्म चौर मर्मतको काम सकिने जानकारी दिएको छ । प्रतिष्ठानका अध्यक्ष भेष खड्कीका अनुसार यस बर्षको प्रतियोगितामा २ विदेशी टिम (भारत र भूटान) सहित ३ विभागीय टिम (नेपाल आर्मी, सशस्त्र र नेपाल प्रहरी) तथा मनाङमस्र्याङ्दी, सरस्वती, साहारा, संकटा र हेटौंडाको विजय यूथ क्लवको सहभागिता रहने छ । ‘प्रतियोगिताको तयारी करिब अन्तिममा पुगिसकेको छ । चौर मर्मत तथा बारबेरको काम चलिरहेको छ’, प्रतिष्ठान अध्यक्ष खड्कीले भने, ‘यस बर्षको प्रतियोगिताको मुख्य प्रायोजकको रुपमा गोर्खा ब्रुअरीजले साथ दिने भएको छ भने सह–प्रायोजकको रुपमा रेडबुलले सहयोग गर्ने भएको छ ।’ प्रतियोगिताको विजेता र उपविजेताले क्रमश ः नगद ५ लाख र ३ लाख रुपियाँ प्राप्त गर्नेछन् । प्रतियोगिता सञ्चालनको लागि करिब ४५ लाख रुपियाँ खर्च लागने आयोजकको अनुमान रहेको छ ।
उत्कृष्ठ कोच, किपर, डिफेण्डर, फरवर्ड र मिडफिल्डलाई जनही नगद १५÷१५ हजार रुपियाँ प्रदान गरिने छ भने बेष्ट प्लेयरलाई कम्तीमा नगद ५० हजार रुपियाँ प्रदान गरिने प्रतियोगिताका प्रचारप्रसार समिति संयोजक राजन दाहाल रसिकले जानकारी दिए । दर्शकको लागि आयोजकले प्याराफिटको व्यवस्था समेत गरेको छ । प्याराफिटमा रहने दर्शकले प्रतिदिन एकसय रुपियाँ र प्याराफिट बाहिर बसेर खेल हेर्न चाहने दर्शकले दैनिक ५० रुपियाँको टिकट लिनुपर्ने व्यवस्था गरिएको आयोजकले जानकारी दिएको छ ।
