डाँडाखर्क पूर्ण खोपयुक्त
हेटौंडा, ३० मंसिर/मकवानपुरको डाँडाखर्क गाविस पूर्ण खोपयुक्त घोषणा भएको छ ।
जिल्ला जनस्वास्थ्य कार्यालय मकवानपुर प्रमुख रामचन्द्र पाठकले डाँडाखर्कलाई पूर्ण खोपयुक्त भएको घोषणा गरेका हुन् । २३ महिना भित्रका सम्पूर्ण बालबालिकाले लगाउनुपर्ने सबै खोप लगाएपछि घोषणा गरिएको गाविस सचिव बसन्त सिटौलाले जानकारी दिए । कार्यक्रमका प्रमुख अतिथि पाठकले बालबालिकाले सानैमा लगाउनुपर्ने खोप लगाएमा विभिन्न रोगबाट बच्न सकिने जानकारी दिंदै यस तर्फ ध्यान दिन स्थानीयलाई अनुरोध गरे । कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी मकवानपुर सभापति सूर्यचन्द्र न्यौपाने, मन्त्री लालबहादुर थापा, नेपाली काँग्रेसका जिल्ला सदस्य बलिन्द्र ब्लोन, गाविस सभापति गुणराज स्याङ्तान, नेकपा एमालेका गौतमबुद्ध लामा, माओवादी केन्द्रका बुद्धिराज गिरी, राप्रपाका बीरबहादुर नेगीलगायतले मन्तव्य व्यक्त गरेका
थिए । गाविस सचिव बसन्त सिटौलाको अध्यक्षतामा भएको कार्यक्रममा हेल्थ पोष्ट इन्चार्ज सन्तोष शाहले स्वागत मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा स्थानीय कलाकारहरुले नृत्य तथा गीत प्रस्तुत
गरेका थिए ।

