‘बैशाख पहिलो हप्ताभित्र स्थानीय निकायको निर्वाचन’
हेटौंडा, १५ पुस/उद्योग मन्त्री नविन्द्रराज जोशीले आगामी चैत्र तेस्रो हप्तादेखि बैशाख महिनाको पहिलो हप्ताभित्रमा स्थानीय निकायको निर्वाचन हुने बताएका छन् ।
उद्योग संघ मकवानपुरको १५ औँ वार्षिक साधारणसभाका लागि प्रमुख अतिथिको रुपमा हेटौंडा आएका उनले शुक्रबार स्थानीय निकायको निर्वाचनको लागि सरकार निरन्तर लागिपरेको बताए । स्थानीय निकायको चुनाव भएमा उद्योगी व्यवसायीलाई समेत सहज हुने मन्त्री जोशीको धारणा थियो ।
यस्तै उनले अबको १० वर्ष भित्र मजदुरीको लागि कोही नेपाली विदेशीनुपर्ने अवस्था नआउने ठोकुवा गरे । नेपाल सम्भावना नै सम्भावनाको देश भएको तर्क प्रश्तुत गर्दै १० वर्षभित्र नेपालमा रोजगारीको खाँचो नपर्ने बताएका हुन् । देशमा औद्योगिक विकासको निम्ति दक्ष युवाशक्तिको खाँचो भएको बताउँदै मन्त्री जोशीले मजदुर र लगानीकर्ताबीको सम्बन्ध नङ र मासुको हुनु आवश्यक रहेको औंल्याए ।
‘मजदुर र मालिकको बीचमा नङ र मासुको जस्तो सम्बन्ध नभएसम्म औद्योगिक क्षेत्रको विकास असम्भव रहेको छ’, मन्त्री जोशीले भने, ‘रोजगारदातालाई शोषकको रुपमा नहेर्न मजदुर वर्गलाई अनुरोध गर्न चाहन्छु ।’ आद्योगिक विकास ऐनलाई कार्यान्वयन गराउन आफू लागि परेको उनको भनाई थियो । राजनीतिक वहस र छलफलले आर्थिक क्षेत्रलाई असर पार्न नहुने भन्दै उनले लगानी गरेपछि २० बर्षसम्म त्यसलाई राजनीतिले असर गर्दैन भन्ने ग्यारेण्टी दिन सके नेपालमा नयाँ उद्योगहरुको ओइरो लाग्ने दावी गरे । कार्यक्रममा स्वागत मन्तव्य व्यक्त गर्दै उद्योग संघ मकवानपुरका अध्यक्ष नवराज अर्यालले मकवानपुरमा औद्योगिक विकासको लागि ओद्योगिक क्षेत्र भित्रका प्रोजेक्टको आधारमा बैँकले ऋण लगानी गर्न सक्ने वातावरण बनाउनुपर्नेमा जोड दिए । विभिन्न नाममा गरिने आन्दोलन र बन्द हड्तालको चपेटामा औद्योगिक क्षेत्र परिरहेको जानकारी दिंदै अध्यक्ष अर्यालले औद्योगिक क्षेत्रलाई शान्ति क्षेत्र घोषणा गरी औद्योगिक शान्ति कायम राख्नु आवश्यक भएको बताए । यति भएमात्र निर्वाध रुपमा उद्योग सञ्चालन हुन सक्ने र यसले मजदुर एवम् मालिक दुवैलाई मात्र नभै समग्र मुलुककै आर्थिक विकासमा मद्दत पु¥याउने दावी गरे ।
कार्यक्रममा सांसद अनन्त पौडेल, मध्यमाञ्चल उद्योग वाणिज्य संघ अध्यक्ष अरुणराज सुमार्गी, मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष राजकुमार न्यौपाने, नेपाल उद्योग परिसंघका प्रथम उपाध्यक्ष कृष्ण अधिकारी, नेकपा एमाले मकवानपुरका अध्यक्ष मुनु सिग्देल, मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष राजकुमार न्यौपाने, नारायणी यातायात व्यवसायी संघका अध्यक्ष बद्री चौलागाई, ट्रेड युनियनहरुका तर्फ गंगा भट्टराईलगायतले मन्त्व्य व्यक्त गरेका थिए ।
