Header Ads


मउवा संघका अध्यक्षको अगुवाईमा बिरोध र बजार बन्द

हेटौंडा, १५ पुस/डिभिजन सडक कार्यालय हेटौँडाले सडक सीमा अतिक्रमण गरी निर्माण गरिएको संरचनाहरु हटाउने क्रममा शुक्रबार हेटौँडा अस्पतालको व्यावसायिक भवनहरु भत्काएको छ । सडक कार्यालय हेटौँडाले सरकारी तथा सरकारी स्वामित्वका भौतिक संरचनाहरु हटाउने क्रममा अस्पतालले भाडामा दिएका सटरहरु शुक्रबार डोजर प्रयोग गरी भत्काएको हो । स्थानीय व्यावसायीहरुले विरोध गरेपछि डिभिजन सडकले कडा सुरक्षाकाबीच अस्पतालको सटर भत्काएको छ । अस्पतालको व्यावसायिक सटर भत्काएसंगै मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष राजकुमार न्यौपानेको नेतृत्वमा शुक्रबार हेटौंडाका पसलहरु बन्द गराइएको छ । अस्पतालको सटरहरु रहेका औषधि पसलहरुलगायतका भाडामा वसेकाहरुलाई समय नदिई एकाएक भत्काएको भन्दै मकवानपुर उद्योग वाणिज्य संघ र औषधि व्यवसायी संघ मकवानपुरले विरोध जनाएको हो । २५ मिटरभित्रपर्ने संरचना भत्काएको बिरोधमा मउवा संघका अध्यक्ष न्यौपानेकै अगुवाईमा शुक्रबार पसल बन्द भएपछि धेरैले सामाजिक सञ्जाल एवम् खुलेआम संघ र अध्यक्ष न्यौपानेको बिरोध गरेका छन् । उनीहरुले संघ र न्यौपानेलाई विकास बिरोधीको आरोप लगाउँदै आवश्यक मउवा संघको निर्णयको बिरोधमा उत्रने सम्मको चेतावनी दिएका छन् । डिभिजन सडकका इन्जिनियर एवम् सूचना अधिकारी जयराम अधिकारीले अस्पतालको संरचना हटाएपछि सडकको केन्द्र भागबाट २५ मिटर दायाबायाँका सडक सीमा अतिक्रमण गरी निर्माण गरिएको सरकारी कार्यालय र सरकारी स्वामित्वका संस्थानहरुको भौतिक संरचनाहरु केहीदिनमा नै हटाइसक्ने जानकारी दिए । सडक डिभिजनले हेटौँडा बजारक्षेत्रमा रहेको राजमार्ग अतिक्रमण गरेर निर्माण गरिएको हेभी ईक्युपमेण्ट, जिल्ला प्रहरी कार्यालय मकवानपुर, वनविज्ञान अध्ययन संस्थान, जिल्ला पशु सेवा कार्यालय मकवानपुरको पर्खाललगायतका संचरनाहरु बुधबार र बिहीबार डोजरलगायतका उपकरण प्रयोग गरी हटाइसकेको छ । कार्यालयले हेटौँडाका एक दर्जन बढी सरकारी कार्यालय एवम् सरकारी स्वामित्वका संस्थाहरुलाई सडक सीमा अतिक्रमण गरी बनाइएका संरचना हटाउन भन्दै १० दिने अल्टिमेटमसहित गत मंसिर २९ गते पत्राचार गरेको थियो । क्षेत्रीय प्रशासक विनोद केसी, मकवानपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद शर्मा दुवाडीलगायतको ‘इनर्जेटिक’ टिमले सरकारको सडक दायाबायाँका २५ मिटर भत्काउने योजनालाई लागू गराउन जोडबलका साथ लागिपरेपछि यतिबेला हेटौंडा त्रसित भएको छ । धेरैले बाटो फराकिलो बनाउने यो निर्णयको स्वागत गरेका छन् भने केहीले बिरोध गरिरहेका छन् ।
Powered by Blogger.