हेटौंडा गोल्डकपको तयारी तीव्र
हेटौंडा, १० पुस/२०७२ बैशाख १२ गतेको विनासकारी भूकम्पमा परेर ज्यान गुमाएका मकवानपुरका खेल पत्रकार सुमन भोम्जनको स्मृतिमा गठन भएको खेलकुद प्रतिष्ठानको आयोजनामा हेटौंडामा यही पुष १४ गतेबाट हुन लागेको दोस्रो अन्तर्राष्ट्रिय आमन्त्रण हेटौंडा गोल्डकपको तयारी तीव्र रुपमा अघि बढाइएको छ ।
प्रतिष्ठान अध्यक्ष भेष खड्कीका अनुसार प्रतियोगिताको तयारी स्वरुप विभिन्न उपसमिति गठन गरेर जिम्मेवारी बाडफाँड गरी कामलाई तीव्रता दिइएको छ । अहिले मैदान मर्मतको काम तीव्र रुपमा अघि बढाइएको खड्कीले जानकारी दिए । मैदानमा पानी हाल्दै चौरलाई व्यवस्थित पार्ने काम अघि बढिरहेको छ ।
आज सोमबारबाट नेपाली सेनाको सहयोगमा मैदानलाई थप सुदृढ र व्यवस्थित पार्ने संगै मैदानलाई थप व्यवस्थित पार्नका लागि खेल मैदान बाँड्ने काम समेत भएको छ । प्रतियोगितामा सहभागिता रहने टिमको टुंगो लागेसंगै अब थप गतिमा काम अघि बढ्ने अध्यक्ष खड्कीले जानकारी दिए । प्रतियोगितामा सहभागी हुने टोलीको टुङ्गो लागिसकेको छ भने प्रायोजक र सहप्रायोजकको समेत टुङ्गो लागिसकेको बताइएको छ । प्रतियोगिताको प्रायोजन गोर्खा ब्रुअरीजले गर्ने पक्का भएको छ ।
पुस १४ गतेबाट २३ गतेसम्म सञ्चालन हुने गोल्डकपका लागि आगामी तीनवर्षसम्म गोर्खा ब्रुअरीजले प्रायोजकको भूमिका निर्वाह गर्ने सम्झौंता भइसकेको छ । हेटौंडा–१० स्थित फरेष्ट्रीको खेल मैदानमा हुने प्रतियोगितामा नेपालका चर्चित ६ वटा ‘ए’ डिभिजन क्लबसहित ३ विदेशी क्लबले सहभागिता जनाउने आयोजकले बताएको छ । प्रतियोगितामा साविकको विजेता मनाङ मस्र्याङदी, नेपाली आर्मी, नेपाल पुलिस, सशस्त्र प्रहरी, संकटा, सरस्वती, सहारा, घरेलु विजय युथ क्लबसहित भारत र भुटानी क्लबको सहभागिता रहने बताइएको छ । प्रतियोगिताको विजेताले नगद ५ लाख र उपविजेताले ३ लाख रुपियाँ नगदसहित ट्रफि प्रदान गरिनेछ । विधागत रुपमा उत्कृट खेलाडी र हरेक खेलमा म्यान अफ दी म्याच पुरस्कारको व्यवस्था
गरिएको छ ।

