Header Ads


मृगौला रोगीलाई जागरण अभियानकोे साढे ४ लाख

हेटौंडा, १० पुस/दुबै मृगौला फेल भएर आर्थिक अभावका कारण उपचार गर्न नसकेका रौतहटको चन्द्रनिगाहपुर घर भै हेटौंडा बस्दै आएका आमा छोरालाई मकवानपुर जागरण अभियानले चारलाख ५२ हजार पाँचसय ६० रुपियाँ नगद सहयोग गरेको छ । 
दुबै मृगौला फेल भएका ४२ वर्षीया विनिता उप्रेती र उनको छोरा २१ वर्षीय आशिष उप्रेतीलाई आइतबार दिउँसो हेटौंडामा पत्रकार सम्मेलनको आयोजना गरी रकम हस्तान्तरण गरिएको हो । विभिन्न सञ्चार माध्यममा आर्थिक अभावमा उपचार नपाउँदा मृत्यु कुर्दै आमाछोरा भन्ने समाचार प्रकाशन भएपछि जागरण अभियानले सहयोग संकलन अभियान सुरु गरेको थियो । 
रौतहटको चन्द्रनिगाहपुर घर भै अहिले हेटौंडामा ठेलामा फलफूल व्यवसाय गर्दै आएकी विनिता र उनका छोरा आशिषको दुबै मृगौला फेल भएपछि उनीहरु उपचार अभावमा छट्पटाएको देख्न नसकेर सहयोग गरिएको जागरण अभियान मकवानपुरका अध्यक्ष कृष्णराज कोइरालाले जानकारी दिए । रकम सहयोग प्राप्त भएपछि मृगौला पीडित विनिताले आफ्नो जीवन बचाउनको लागि सहयोग गर्ने सबैलाई धन्यवाद व्यक्त गरिन् । ४ वर्ष पहिले आफ्नो मृगौलाले काम नगर्ने अवस्थामा पुगेको थाहा पाएपछि विनिताले आफ्नो छोरालाई पनि आफूलाई जस्तै समस्या देखिन थालेको र जचाँउदा दुबै मृगौला फेल भएको थाहा पाएको 
जानकारी दिइन् । 
फलफूल बेचेको फाइदाले छोरा र आफूलाई औषधी खान पनि नपुग्ने भएकोले मृत्यु कुर्नुको विकल्प नभएको उनको भनाइ छ । आर्थिक अवस्था नाजुक भएको र घरपरिवारले समेत वास्ता नगर्ने बताउँदै उनले आफूहरुको जीवन बचाउनको लागि सम्पूर्णलाई आग्रह समेत गरिन् । आफू त मरुला तर मेरो छोरा मेरै अगाडि मरेको म कसरी हेरुँ ? दुई वर्ष अघि छोराको मृगौला ७७ प्रतिशत विग्रेको भन्ने कुरा डाक्टरले भनेको बताउँदै उनले छोरालाई केहि समय बचाउन पनि हप्तामा ३ पटक डायलोसिस गर्नुपर्ने बताइन् । छोराको र आफ्नो उपचार गर्दा सबै सम्पत्ति सकिएको र ५ लाख ऋण लागेको बताउँदै उनले आफ्नो र छोराको मृगौला फेर्नको लागि ३० लाखभन्दा धेरै लाग्ने भएकोले मृत्यु कुर्नुको विकल्प नभएको दोहो¥याइन् । 
कार्यक्रममा अभियानका केन्द्रीय सदस्य जनकमान डंगोल, बरिष्ठ सल्लाहकार भीमसेन महतलगायतले उप्रेती आमाछोराको उपचारमा सहयोग गर्न आम मकवानपुरबासीलाई अनुरोध गरेका थिए । सबैको स–सानो सहयोगले उप्रेती आमाछोराको जीवन बच्न मद्दत पुग्ने भन्दै उनीहरुले यसको लागि सबैको सहयोगी भूमिका आवश्यक रहेकोमा जोड दिएका थिए ।
Powered by Blogger.