पहिलो चौमासिकमा पाँचवटा मुद्दा दर्ता
हेटौंडा, २२ मंसिर÷क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयमा आर्थिक वर्ष २०७३÷०७४ को प्रथम चौमासिकमा जम्मा ५ वटा मुद्दा मात्र दर्ता भएको छ ।
जसमा दूध तथा दुग्ध पदार्थको १, खाद्यान्न, दलहन र सोबाट बनेको १, कन्फ्केक्सनरी १ र हल्का पेय पदार्थसम्बन्धी २ ओटा मुद्दा परेको कार्यालयले बुधवार पत्रकार सम्मेलन मार्फत जानकारी दिएको हो । कार्यालयले प्रथम चौमासिकमा खाद्य बजार निरीक्षणबाट मकवानपुर, बारा, पर्सा, चितवन, रौतहट, सर्लाही, महोत्तरी, धनुषा र सिन्धुलीमा गरी २ सय ११ ओटा नमूना संकलन गरेको छ । जसमा सबैभन्दा धेरै नमुना संकलन चितवनबाट ३६ ओटा संकलन गरिएको र सबैभन्दा कम सिन्धुलीमा गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय मकवानपुरका प्रमुख राजकुमार रिजालले जानकारी दिए । संकलित २ सय ११ नमूनामध्ये १ सय ९३ नमूना अनुकुल रहेको र १८ ओटा प्रतिकुल रहेको उनले जानकारी दिए ।
कार्यालयले खाद्य बजार निरीक्षण अनुगमन १ सय ९९ पटक, खाद्य उद्योग निरीक्षण अनुगमन ९५ पटक, होटल
रेष्टुरेन्ट निरीक्षण अनुगमन ९८ पटक गरेको जानकारी दिएको छ । कार्यालयले विभिन्न समयमा गरेको बजार अनुगमनबाट ३ सय ५१ केजी खाद्यान्न, मिठाई १ सय १४ केजी, तितौरा ४९ पाकेट, सागपात फलफूल १० केजी, तेल घिउ १ सय २२ केजी, मसला ४० केजी, भाईमसला २१ केजी, चकलेट १ सय ३२ पाकेट, चिया १९ केजी, खाद्य रङ १२ केजी नष्ट गरेको जानकारी दिइएको छ । कार्यालयमा भौतिक पूर्वाधारको अभाव, प्रयोगशाला कक्षको कमी भई उपकरण जडानमा समस्या रहेको र नयाँ उपकरण जडानका लागि बजेटको अभाव रहेको रिजालले बताए । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका प्रमुख रिजालको अध्यक्षतामा भएको कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यालयले प्रथम चौमासिकमा ८ लाख ९६ हजार ८ सय १० रुपिँया राजस्व संकलन गरेको र प्रथम चौमासिकको वित्तिय सत् प्रतिशत रहेको जनाएको छ ।

