रेडियो मकवानपुरलाई शिक्षा पत्रकारिता पुरस्कार
हेटौंडा, १४ पुस/नेपाल पत्रकार महासंघ र शिक्षा विभागले संयुक्त रुपमा प्रदान गर्ने संस्थागत शिक्षा पत्रकारिता पुरस्कार–२०७२ हेटौँडाको पहिलो सामुदायिक रेडियो, रेडियो मकवानपुर १०१ दशमलव ३ मेगाहर्जलाई प्रदान गरिने भएको छ ।
पत्रकार महासंघ र शिक्षा विभागद्वारा गठित मूल्याड्ढन तथा छनोट समितिले रेडियो मकवानपुरलाई पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो । एफएम रेडियोलाई प्रदान गरिने उक्त पुरस्कार रेडियो मकवानपुर र रेडियो रसुवा (रसुवा) लाई संयुक्त रुपमा प्रदान गरिने भएको छ । पुरस्कारको राशी २० हजार रुपियाँ रहेको छ । रेडियोका स्टेशन संयोजक राममणि दाहालले पुरस्कारको लागि छनौट हुँदा खुसी लागेको बताउँदै यसले निरन्तर आवाजविहिनहरुको आवाजको रुपमा रेडियोलाई अघि बढाउन हौसला मिलेको बताए । त्यस्तै उपत्यकासहित ६ क्षेत्रका एफएम रेडियोलाई प्रदान गरिने संस्थागत शिक्षा पत्रकारिता पुरस्कार पुर्वाञ्चलबाट पूर्वेली एफएम (मोरङ) र रेडियो मकालु (धनकुटा), उपत्यकाबाट रेडियो सगरमाथा (ललितपुर), पश्चिमाञ्चलबाट रेडियो सारथी (बाग्लुङ), मध्यपश्चिमाञ्चलबाट रुबरु एफएम (बाँके) र सुदूरपश्चिमाञ्चलबाट संयुक्त रुपमा रेडियो धनगढी (कैलाली) र रेडियो अमरगढी (डडेलधुरा) लाई प्रदान गरिएको छ । राष्ट्रिय शिक्षा पत्रकारिता पुरस्कार–२०७२ यस पटक दुई जना पत्रकारलाई संयुक्त रुपमा प्रदान गरिने भएको छ ।
७५ हजार रुपियाँ राशीको यो पुरस्कार अन्नपूर्ण पोष्ट दैनिकका सूर्यप्रसाद पाण्डे र कान्तिपुर दैनिकका मकर श्रेष्ठलाई संयुक्त रुपमा प्रदान गर्ने निर्णय गरेको छ ।

