‘रंगशालामा विशेष बजेट व्यवस्था गर्नेछु’
हेटौंडा, १४ पुस÷संस्कृती, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री इन्द्रबहादुर बानियाँले गौरिटार रंगशाला निर्माणको लागि विशेष बजेटको व्यवस्था गर्ने बताएका छन् ।
बिहीबारबाट हेटौंडामा सुरु भएको दोस्रो अन्तर्राष्ट्रिय आमन्त्रण हेटौंडा गोल्डकप फुटबल प्रतियोगिताको उद्घाटन गर्दै उनले गौरिटार रंगशालाको लागि चाँडो भन्दा चाँडो विशेष बजेटको व्यवस्था गर्ने बताएका हुन् । खेलचित्र जालझेल र राष्ट्रलाई धोका दिने काम हुन नहुने भन्दै उनले खेलाडीले राष्ट्रको लागि खेल्नुपर्ने सुझाव दिए ।
मकवानपुरमा खेलकुद पर्यटनको लागि यस प्रतियोगिताले सघाउ पु¥याउने धारणा राख्दै राज्यमन्त्री बानियाँले खेलकुद प्रतियोगिता आयोजक संस्थालाई सबैको सहयोग आवश्यक रहेको औंल्याए । उनले खेल क्षेत्रको विकासको निम्ति सम्पूर्ण राजनीतिक दलहरु एक हुनु आवश्यक रहेकोमा जोड दिए । मकवानपुर ‘पाइम सिटी’ को रुपमा विकास हुँदै गएको र मकवानपुरको विकासमा आफू लागिपरेको जानकारी दिए । यस्तै मकवानपुरका प्रमुख जिल्ला अधिकारी नारयणप्रसाद शर्मा दुवाडीले हेटौंडा पछिल्लो समय खेलकुदको शहरको रुपमा समेत विकसित हुँदै गएको बताए । उनले यस प्रतियोगिता सभ्य र भव्य रुपमा सफल बनाउनको लागि आम मकवानपुरबासीको सहयोग आवश्यक रहेकोमा जोड दिए ।
यस्तै नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य एवम् खेलकुद पत्रकार मञ्चका केन्द्रीय महासचिव प्रकाश तिमल्सिनाले गौरिटारको रंगशाला निर्माणमा ध्यान दिन राज्यमन्त्री बानियाँलाई अनुरोध गर्दै यसमा सबैको सहयोग आवश्यक रहेको बताए । नेकपा माओवादी केन्द्रका संयोजक प्रेमबहादुर पुलामी छिन्तुले हेटौंडा गोल्डकपलाई निरन्तरता दिन सबै एकताबद्ध हुनु आवश्यक रहेको औंल्याए । यस्तै मकवानपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष माधव तिमल्सिनाले हेटौंडा गोल्डकप आम मकवानपुरबासीको प्रतियोगिता भएको धारणा राख्दै यसलाई निरन्तरता दिनको लागि मकवानपुरबासीकै सहयोग आवश्यक रहेकोमा जोड दिए ।
आयोजक सुमन भोम्जन स्मृति खेलकुद प्रतिष्ठानका अध्यक्ष भेष खड्कीको अध्यक्षतामा भएको कार्यक्रममा द्वितीय उपाध्यक्ष विशाल घोषले स्वागत गरेका थिए ।
