बीएड्मा विज्ञान विषयको अध्यापन हुने
हेटौंडा, २२ मंसिर/शिक्षा संकायमा नेपालमै राम्रो नतिजा ल्याउने क्याम्पसको परिचय बनाउन सफल हेटौंडा क्याम्पसले यस बर्षबाट बीएड्मा विज्ञान विषयको अध्यापन सुरु गर्ने भएको छ ।
स्नातक तहमा अर्थशास्त्र र विज्ञान बिषय गत बर्षबाटै सुरु गर्ने तयारी गरिएको भएपनि विज्ञान बिषयको अध्यापन भने यस बर्षबाट मात्रै सुरु हुने भएको हो । क्याम्पस प्रशासनले बुधबार पत्रकार सम्मेलन गरी दिएको जानकारी अनुसार मकवानपुरमै पहिलो पटक बीएड्मा विज्ञान बिषयको पढाई हुन लागेको हो । हेटौंडा क्याम्पस प्रमुख देवचन्द्र मानन्धरका अनुसार यसअघि दशजोड दुईसम्म यहाँका विभिन्न क्याम्पसहरुले विज्ञान बिषय अध्ययन गराउँदै आएको भएपनि स्नातक तहमा भने यसको पढाई भएको थिएन । ‘विज्ञान बिषयमा ब्याच्लर गर्नका लागि काठमाण्डौं जानुपर्ने समस्याको अब हल भएको छ’, मानन्धरले भने, ‘विज्ञान बिषयको सवालमा भैरहेको जनशक्तिको अभाव समेत टर्नेमा हामी विश्वस्त रहेका छौं ।’ दशजोड दुई विशुद्ध विज्ञान बिषयमा अध्ययन गरेका तथा मूल बिषय विज्ञान लिएर अध्ययन गरेकाहरुले बीएड्मा यस बिषय अध्ययन गर्न पाउनेछन् । हेटौंडा क्याम्पसले शिक्षा संकायमा कायम राख्दै आएको उत्कृष्ठतालाई मध्यनजर गर्दैै विज्ञान बिषयमा समेत गुणस्तरलाई कायम राख्ने क्याम्पस प्रशासनले प्रतिबद्धता जनाएको छ । बीएड्मा विज्ञान अध्यापनको लागि ल्याब निर्माण भैरहेको र प्राध्यापकको समेत खोजी भैसकेको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।
