Header Ads


सरकारी बेवास्तामा किटजन्य रोग अनुसन्धान केन्द्र

हेटौंडा, २१ मंसिर÷पछिल्लो समयमा किटजन्य रोग स्क्रब टाइफसका कारण धेरैजना बिरामी भएका छन् । 
स्क्रब टाइफसजस्तै दर्जन बढी किटजन्य रोगका कारण थुप्रै सर्वसाधरणले वर्षेनी अकालमै ज्यान गुमाउँदै आएका छन् । तर किटजन्य रोगको अनुसन्धान गर्ने हेटौँडास्थित देशको एकमात्र किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रले सरकारी बेवास्ताका कारण गुमनाम जस्तै छ । 
किटजन्य रोगको प्रकार र त्यसको नियन्त्रणको उपाय पत्ता लगाउन अनुसन्धानको काम गर्ने र स्वास्थ्यकर्मीहरुलाई तामिल दिने केन्द्र आफै बिरामी रहेको छ । स्रोत साधन अभावले किटजन्य रोगहरुको पर्याप्त अनुसन्धान गर्न नसकिएको केन्द्रका प्रमुख डा. विश्वराज खनालले बताए । 
सरकारले सन् १९७९ मा औंलो रोग अनुसन्धानको लागि केन्द्र स्थापना गरेको थियो । युएसआईडीले सन् २००१ मा टिकजन्य रोग अनुसन्धान गर्न दिएको उपकरण पिआरसी प्रयोगमै नआई थन्किएर बसेको छ । दुई वर्ष अघि विश्व स्वास्थ्य संगठनले स्वास्थ्य मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा मार्फत  पिसिआर मेसिन उपलब्ध गराएपछि भने केन्द्रले औंलो रोगको अनुसन्धान गरिरहेको छ । ‘देशका सबै क्षेत्रमा पाईने लामखुट्टेलाई मोलिकुलर बायोलोजी ल्याबमा राखेर हामीले अनुसन्धान गरिरहेका छौं’, केन्द्रका माईक्रोबायोलोजिष्ट डा. बिजय बज्राचार्यले भने, ‘थोरै भन्दा थोरै किटाणु पनि पत्ता लगाएर परिजीवि चिन्ने काम गरिरहेका छौं ।’ 
साथै डेंगु रोगको पनि अनुसन्धको काम भईरहेको उनले बताए । एउटै रोगको अनुसन्धानको लागि लाखौं रुपैयाँको केमिकल र सामग्री आवश्यक पर्ने केन्द्र प्रमुख खनालले बताए । ‘अनुसन्धानका सामनहरु विदेशबाट मगाउनुपर्छ’, उनले भने, ‘सिमित स्रोतसाधनका कारण अन्य रोगको अनुसन्धान गर्न सकेका  छैनौं ।’ किटजन्य रोग महिनौसम्म नियन्त्रणमा नआएमा, नियन्त्रण बाहिर गएमा वा किटजन्य रोग उन्मुलनको लागि अनुसन्धान गर्ने केन्द्रको काम हो । किटजन्य रोग अनुसन्धाको लागि अवश्यक पर्ने किट विज्ञहरु पनि केन्द्रसँग छैन । अनुसन्धाको लागि सिनियर इपिडिमियोलोजीष्ट, सिनियर माईक्रोबायोलोजिष्ट, सोसियल साइन्टिस्ट र रिसर्च अधिकृत आवश्यक रहेको खनालले बताए । 
‘तर हामीसँग जुनियर अनुसन्धान टेक्निसियनहरु मात्रै छन्’, उनले भने, ‘हामी आफैले राख्न स्रोत छैन,सरकारले त्यस्ता बिज्ञहरु माग्दा पनि दिएको छैन ।’ तालिम हल र गेष्ट हाउस सञ्चालन गरेर आएको भाडाले कार्यालय सञ्चालन गर्नुपरेको केन्द्र प्रमुख खनालको गुनासो छ ।
Powered by Blogger.