Header Ads


कान्तिलोकपथ अवरुद्ध पार्ने चेतावनी

हेटौंडा, १९ मंसिर/हेटौंडा कान्तिलोकपथका बासिन्दाले ३ दिनभित्रमा सडक निर्माण कार्य सुरु नभएमा सडक खण्ड पूर्ण रुपमा अवरोध गर्ने चेतावनी दिएका छन् । 
आइतबार जिल्ला प्रशासन कार्यालय मकवानपुरमा ज्ञापनपत्र बुझाउँदै कान्तिलोकपथ निर्माण संघर्ष समितिले केही समयअघि निर्माण कार्य सुरु भएको यस सडक खण्ड अहिले वेवारिसे अवस्थामा रहेको भन्दै प्रशासनको ध्यानाकर्षण गराएको हो । ‘यस सडक खण्ड विगत देखि नै अत्यन्त क्षतविक्षत रहेको, मानिस हिँडडुल र सवारी सञ्चालनमा असाध्यै कष्ठपूर्ण अवस्था रहेको र खाल्डाखुल्डी एवम् धुवाँधुलोका कारण यस क्षेत्रमा मानव स्वास्थ्यमा गम्भीर खालका समस्याहरु उत्पन्न हुँदै गएका छन्’, ज्ञापनपत्रमा भनिएको छ, ‘सडकको दुरावस्थाले साना सवारी सञ्चालन हुने अवस्था समेत कष्टपूर्ण हुँदै गएको छ भने पैदल यात्रामा समेत निकै अप्ठेरो परिरहेको छ ।’ संघर्ष समितिले जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रशासकीय अधिकृत वर्तराज पौडेललाई ज्ञापनपत्र बुझाएका हुन् । 
बाटोको दुरावस्थाको कारण समग्र जनजीवनमा परेको नकारात्मक असर तर्फ ध्यानाकर्षण गराउँदै समितिले कान्तिलोकपथ सडक खण्ड निर्माण कार्यलाई तत्काल अघि बढाउन ठेकेदार कम्पनी र सम्बन्धित पक्षलाई कडा निर्देशन दिन प्रशासन समक्ष अनुरोध गरेको छ । सडक निर्माण कार्य आइतबारदेखि ३ दिनभित्र सुरु नभएमा सडक–खण्ड पूर्ण अवरोध गरी आन्दोलनमा उत्रने चेतावनी दिएको हो । ज्ञापनपत्र बुझ्दै प्रशासकीय अधिकृत पौडेलले यस समस्याको बिषयमा प्रमुख जिल्ला अधिकारीलाई जानकारी गराइने प्रतिबद्धता जनाए ।
Powered by Blogger.