बस्तीपुर जेसीजको अध्यक्षमा न्यौपाने र अधिकारीको उम्मेदवारी
हेटौंडा, ९ पुस/बर्ष सन् २०१७ को नेतृत्व लिने उद्देश्यका साथ बस्तीपुर जेसीज हाँडीखोलाको अध्यक्षमा २ जनाले उम्मेदवारी दिएका छन् ।
शनिबार भएको छैठौं साधारणसभामा २०१७ को नेतृत्व लिनका लागि पुष्कल न्यौपाने र सुनिल अधिकारीले उम्मेदवारी दिएका हुन् । यस्तै कार्यकारिणि उपाध्यक्षमा ७ जना र उपाध्यक्षका लागि ६ जनाले उम्मेदवारी दिएका छन् । कार्यकारिणि उपाध्यक्षमा ज्योतिराज लुईंटेल, जयराम सुवेदी, रबि कंडेल शर्मा, राजेश भेटवाल, प्रकाश अर्याल, बाबुराम खतिवडा र रबिन ढकालको उम्मेदवारी परेको हो भने उपाध्यक्षमा सागर सापकोटा, आकाश पाठक, धर्म धिमाल, रुपेश के.सी, बिदुर थापा र सन्तोष उप्रेतीको उम्मेदवारी
परेको निर्वाचन आयुक्त प्रेम बोलखेले जानकारी दिए ।
जेसीजको विधान अनुसार साधारणसभाबाट प्रत्येक बर्ष १ अध्यक्ष, २ कार्यकारिणि उपाध्यक्ष र ४ उपाध्यक्ष निर्वाचित हुने व्यवस्था रहेको छ । बाँकी पद अध्यक्षले बोर्डसंगको सल्लाहमा मनोनित गर्ने प्रचलन रहेको छ । सर्वसम्मत रुपमा नयाँ नेतृत्व चयनको प्रयास भैरहेको र आज आइतबार मात्र नयाँ नेतृत्वको टुङ्गो लाग्ने बताइएको छ । हालसम्म बस्तीपुर जेसीजमा निर्वाचन नभएकोले यसलाई निरन्तरता दिनको लागि संस्थापक एवम् पूर्व अध्यक्षहरु सर्वसम्मतीको प्रयासमा लागिपरेका छन् । नेपाल जेसीज राष्ट्रिय उपाध्यक्ष शोभा खरेलको प्रमुख आतिथ्यता तथा बस्तीपुर जेसीज अध्यक्ष बिनोदकुमार बर्तौलाको अध्यक्षतामा साधारणसभा भएको हो ।
कार्यक्रममा बस्तीपुर जेसीजका संस्थापक अध्यक्ष गणेश भेटवाल, पूर्व अध्यक्ष बसन्त सिटौला, सन् २०१६ का कार्यकारिणि उपाध्यक्ष सुनिल अधिकारीलगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमका वक्ताहरुले जेसीजप्रति युवाहरुको आकर्षण घट्दै गैरहेको भन्दै यसतर्फ ध्यान दिन जेसीज नेतृत्वलाई अनुरोध गरे । नेतृत्व र व्यक्तित्व विकासमा कृयाशिल जेसीज सामाजिक कार्यमा पनि उत्तिकै लाग्नु आवश्यक रहेको वक्ताहरुको भनाई थियो ।
साधारणसभामा कार्यकारिणि उपाध्यक्षद्वय सुनिल अधिकारी र अर्जुन केसी, उपाध्यक्षहरु गणेशदर्पण अधिकारी, प्रकाश थोकर, रमिला घलान र रबि कंडेल शर्मा, महासचिव प्रकाश अर्याल, कोषाध्यक्ष भूपेन्द्र अधिकारी र जेसीज सप्ताहका कार्यक्रम संयोजकहरुको प्रतिवेदन पास गरेको थियो ।

