Header Ads


कान्तिलोकपथ निर्माण सानोपोखराबाट सुरु हुने

हेटौंडा, २३ मंसिर/केही समयदेखि कान्तिलोकपथ सडक निर्माण कार्य रोकिएको भन्दै स्थानीयले ध्यानाकर्षण गराएपछि अब कान्तिलोकपथको काम सानोपोखराबाट निर्माण सुरु हुने भएको छ ।
बजार क्षेत्रमा धेरै धुलो उडेको भन्दै कान्तिलोकपथ संघर्ष समितिले गत आतइबार जिल्ला प्रशासन कार्यालय मकवानपुरमा ज्ञापनपत्र बुझाउँदै ३ दिनभित्रमा सडक निर्माण कार्य सुरु नभएमा सडक खण्ड पूर्ण रुपमा अवरोध गर्ने चेतावनी दिएका थिए । कान्तिलोकपथ सडक–खण्ड विगतदेखि नै अत्यन्त क्षतविक्षत रहेको, मानिस हिँडडुल र सवारी सञ्चालनमा असाध्यै कष्ठपूर्ण अवस्था रहेकोले मानव स्वास्थ्यमा गम्भीर खालका समस्याहरु उत्पन्न हुँदै गएको भन्दै स्थानीयले ज्ञापनपत्र बुझाएका थिए । बिहीबार जिल्ला प्रशासन कार्यालय मकवानपुरमा भएको छलफलको क्रममा सडक निर्माणको जिम्मा पाएको निर्माण कम्पनीले रोकिएको काम सुरु गर्ने प्रतिबद्धता जनाएको हो । संघर्ष समिति, प्रशासन कार्यालय, सडक निर्माणको जिम्मा पाएको बानियाँ निर्माण सेवाका प्रतिनिधिसहितको सरोकारवालाको बैठकले हेटौँडाको सानोपोखराबाट स्तरोन्नतिको काम थाल्ने, सडकमा धुलो नियन्त्रणको लागि पानी हाल्ने तथा सडक निर्माणका क्रममा खानेपानी पाईप र विद्युतिय पोलको व्यवस्थापनका लागि सम्बन्धित निकायमा आवश्यक पहल गर्ने सहमति गरेको हो ।
छलफलमा निर्माण कम्पनीले खानेपानी पाईप र विद्युतिय पोलको व्यवस्थापनमा सम्बन्धित निकायबाट समन्वय हुन नसक्दा समस्या परेको जानकारी दिए । पाईप व्यवस्थापनका लागि लाखौं रकम आवश्यक पर्ने भएपनि खानेपानी बोर्डसंग बजेट अभाव रहेको बताईएको छ । बैठकमा प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद शर्मा, संघर्ष समितिका संयोजक रबिन्द्र पोखरेल, बानियाँ निर्माण सेवाका ऋषिराज बानियाँ, मकवानपुर प्रहरी प्रमुख वसन्तकुमार लामालगायतको उपस्थिति थियो । बानियाँ निर्माण सेवाले हेटौँडा–७ न्यूरेनी, हेटौँडा–६ चौघडालगायतका क्षेत्रमा कान्तिलोकपथको काम गरिरहेको छ ।
Powered by Blogger.