५ पत्रकारलाई सम्मान, श्रेष्ठद्वारा बहिष्कार
हेटौंडा, २८ पुस/हेटौंडा उपमहानगरपालिकाले नगर परिषद्मा ४ जना पत्रकारलाई नगदसहित सम्मान गरेको छ भने एकजनालाई अग्रज पत्रकारको रुपमा सम्मान गरेको छ ।
विकास पत्रकारिता मार्फत समाजमा योगदान पु¥याएको भन्दै रेडियो निकासका सुनिल खड्का, अन्नपूर्ण पोष्टका मकवानपुर संवाददाता कृष्ण सारु मगर, टिम टिभीका पुष्पराज अधिकारी र खबरब्रेक डटकमका धर्मेन्द्र दाहाललाई सम्मान गरेको हो भने अग्रज पत्रकारको रुपमा रासस मकवानपुरका प्रतिनिधी कृष्णराम परियारलाई सम्मान गरेको हो । खड्का, अधिकारी र दाहाललाई नगद १० हजार १ रुपियाँसहित सम्मान गरिएको हो भने सारुलाई १२ हजार ५ सय १ रुपियाँसहित सम्मान गरिएको हो । समृद्ध समाज दैनिकका प्रकाशक सम्पादक सुरेश श्रेष्ठले भने सम्मान बहिष्कार गरेका छन् । सम्मानको लागि नगरपालिकाले बर्षैपिच्छे नयाँ कार्यविधी बनाउँदै पत्रकार सम्मानलाई सामान्य रुपमा लिएकोले असन्तुष्टी जनाउँदै बहिष्कार गरिएको उनले बताए ।
पुरस्कार सिफारिस समितिले वर्षेनी मापदण्ड परिवर्तन गरेको, राम्राभन्दा हाम्रालाई राजेको र क्षमताभन्दा राजनीतिक समूह रोज्ने प्रवृत्ति बढेकोले पुरस्कार अस्वीकार गरेको श्रेष्ठको भनाई छ । नगरपालिकाले १९ औं परिषद्मा २ जनालाई सम्मान गरेको थियो भने २० औं र २१ औं परिषद्मा ३÷३ जनालाई सम्मान गरेको थियो । यस बर्ष ५ जनालाई नगदसहित र १ जनालाई अग्रजसम्मानको रुपमा सम्मानको थालनी गरेको
छ । हालसम्म १४ जना पत्रकारलाई सम्मान गर्दा १ जना पनि महिला पत्रकार सम्मानित भएका छैनन् ।
कार्यक्रममा उत्कृष्ट करदाता ब्यक्तिगततर्फ प्रकाशबहादुर सिंह, संस्थागततर्फ नारायणी यातायात व्यवसायी संघ, उत्कृष्ट उद्यमी सम्मान हेटौंडा–११ की च्याउ खेती कृषक देवीमाया श्रेष्ठलाई प्रदान गरिएको छ । उत्कृष्ट शैक्षिक पुरस्कार विद्यार्थीतर्फ एसएलसी परीक्षामा उत्कृष्ट हुन सफल ज्योति उच्चमाविका सलिना पराजुली, सिद्धार्थ उच्च माविका सुवास सहनी, शैक्षिक संस्थातर्फ आधुनिक राष्ट्रिय मावि, बाल जागृति युवा वर्ष मावि र बालबोध मावि हटियालाई प्रदान गरिएको थियो । यस्तै निर्माण आयोजनातर्फ हेटौँडा–१२ को संयुक्त उपभोक्ता समिति, शान्ति टोल विकास संस्था हेटौँडा–२, गुप्तेश्वरी टोल विकास संस्था हेटौँडा–६, ११ नम्बर वडा टोल विकास संस्था समन्वय समिति र हेटौँडा खानेपानी बोर्डलाई प्रशंसापत्रसहित सम्मान गरिएको छ । यसैगरी उपमहागरपालिकाले कर्मचारीहरुतर्फ जुनियर इन्जिनियर सुवर्णसिं बस्नेत र सरसफाई कर्मचारी मैयादेवी पोडेलाई वर्ष कर्मचारी घोषणा गरी नगदसहित सम्मान गरेको छ ।

