Header Ads


हाँडीखोलामा जग्गाको भाउ आकाशियो

हेटौंडा, १ माघ/मकवानपुरको मनहरी–८ रजैया र हाँडीखोला–६ लामिटार जोड्नको लागि राप्तीखोलामा यतिबेला धमाधम पक्की पुल निर्माणको काम भइरहेको छ । 
आगामी बर्षा अवागै पुल निर्माण कार्य सम्पन्न गर्ने उद्देश्यका साथ ठेकेदार कम्पनीले निर्माण कार्यलाई तीव्रता दिइरहँदा हाँडीखोलामा जग्गाको भाउ आकाशिएको छ । ‘एक बर्ष अघि सम्म २ लाख रुपियाँ कट्ठा बिक्री हुन समेत मुस्किल जग्गा अहिले ५ लाख दिन थालिसकेका छन्’, हाँडीखोला–६ लामिटारका अष्टराज अर्यालले भने, ‘राप्तीखोलामा पुल बन्दा हामीलाई बर्षामा आउजाउ गर्न सजिलो हुने त हो नि भन्ने सोचेका थियौं । अप्रत्यक्ष रुपमा यसको फाइदा धेरै हुने रहेछ ।’ 
लामिटारमा जग्गा किन्नको लागि दिनहुँ कम्तिमा ५÷७ जना आउने गरेको उनले जानकारी दिए । ‘आज एउटा आउँछ यतिमा बेच्ने हो भन्छ । भोली अर्को आउँछ अलि बढाएर भन्छ’, अर्यालले भने, ‘बाटो छेउको घडेरी हुने जग्गा ८÷९ लाख रुपियाँ कट्ठामा समेत किनबेच हुन थालिसकेको छ ।’ यस्तै स्थानीय रामचन्द्र अधिकारीले पछिल्लो समय गाउँका युवा देखि किसानहरु समेत जग्गा किनबेच कार्यमा तल्लीन भएर लागेको बताए । ‘अब गाउँमा जग्गाको काम नगर्ने मान्छे भेट्टाउनै मुस्किल छ’, अधिकारीले भने, ‘सबै जग्गा व्यापारी । सबैको खल्तीखल्तीमा लालपूर्जा ।’ 
यसअघि सस्तोमा जग्गा बेचेकाहरु यति बेला थक्थकाएर बसेको भन्दै उनले पछिल्लो एक बर्ष यता हाँडीखोलाको ६ नम्बर वडामा जग्गाको कारोबार र मूल्य बढेको बताए । उनका अनुसार हेटौंडा तथा छिमेकी जिल्लाहरुबाट समेत जग्गा किन्नको लागि हाँडीखोला आउने गरेका छन् । ‘राजमार्ग आसपासको २५ मिटर क्षेत्रमा रहेको संरचना भत्किने बिषयले पनि हुन सक्छ गाउँगाउँमा जग्गा किन्नेको लर्को लागेको’, स्थानीय निरञ्जन उप्रेतीले थपे, ‘शहरमा जागिर गरिरहेकाहरुले ‘रिटायर्ड लाइफ’ गाउँमा बिताउने हिसाबले धेरैले यहाँ जग्गा किनेको पाइएको छ ।’ आफूले किनेर अरुलाई बेच्नको लागि भन्दा पनि बुढेसकालमा गाउँको स्वच्छ वातावरणमा जीवन बिताउने उद्देश्यका साथ शहरका मानिसहरुले जग्गा किनेको उनको दावी छ । तरकारी तथा अन्न खेतीको लागि राम्रो मानिएको हाँडीखोलामा पछिल्लो समय प्राय ः जमिन घडेरीको रुपमा कट्टा गर्दै बिक्री हुँदा पछि खाद्य संकट आउन सक्ने भन्दै केही स्थानीयले चिन्ता समेत व्यक्त 
गरेका छन् ।
Powered by Blogger.