Header Ads


प्रहरीलाई हराउँदै साहारा विजयी

हेटौंडा, १६ पुस/सुमन भोेम्जन स्मृति खेलकुद प्रतिष्ठानको आयोजनामा हेटौंडामा जारी अन्तर्राष्ट्रिय आमन्त्रण हेटौंडा गोल्डकप फुटबल प्रतियोगिता अन्तर्गत शनिबार भएको खेलमा पोखराको साहारा क्लव विजयी भएको छ । 
नेपाल प्रहरीलाई २–० गोल अन्तरले हराउँदै साहाराले जित निकालेको हो । निकै प्रतिष्पर्धात्मक खेलको २८ औं मिनेटमा क्याप्टेन उत्तम गुरुङले गोल गर्दै साहारालाई अग्रता दिलाएका थिए । त्यसपश्चात झनै आक्रामक बनेको खेलको ८४ औं मिनेटमा शिव सुवेदीले गोल गर्दै साहाराको अग्रता दोब्बर पारे । उनको कर्नर प्रहार गोलमा परिणत भएको थियो । खेलको म्यान अफ दी म्याच भएका साहाराका शिव सुवेदीले नगद ३ हजार सहित ट्रफी प्राप्त गरे । 
खेलमा साहाराले गोल गर्ने केही राम्रा मौकाहरु गुमाएको थियो । नेपाल प्रहरीका प्रशिक्षक कुमार कटुवालले लगातारको खेलको कारण खेलाडीहरु फिटमा नभएको र केही खेलाडी रेष्टमा रहेको कारण हार व्यहोर्नुपरेको प्रतिक्रिया दिए । ‘खेल त्यत्ति राम्रो हुँदाहुँदै पनि हार व्यहोर्नुपरेको छ’, कटुवालले भने, ‘रवि पासवानले पाएको राम्रो मौकाको सदुपयोग नहुँदा हामी पछाडी प¥यौं ।’ 
नेपाल प्रहरीको टिममा रहेका राष्ट्रिय खेलाडीहरु सुमन लामा, रबिन श्रेष्ठलगायत घाइते भै रेष्टमा रहेको र बाँकी खेलाडी समेत फिट नहुँदा हार व्यहोर्नुपरेको उनले बताए । यस्तै साहाराका प्रशिक्षक किरण श्रेष्ठले आफ्ना खेलाडीले पाएको केही राम्रा मौकाहरु सदुपयोग हुँदा जित निस्केको प्रतिक्रिया दिए । आफ्ना खेलाडीले सतप्रतिशत नतिजा दिन सफल भएको भन्दै उनले दोस्रो हाफमा रक्षात्मक खेल खेल्दा पाएको ३ वटा राम्रा मौका गुमेको बताए । जारी खेलमा आज आइतबार सशस्त्र प्रहरीको नेपाल एपीएफ क्लव र साविक विजेता मनाङ मस्र्याङ्दीको बीचमा खेल हुने आयोजकले जनाएको छ । २ विदेशीसहित १० टिमको सहभागिता रहेको प्रतियोगिता २३ गतेसम्म सञ्चालन हुनेछ । 
प्रतियोगिताको विजेता र उपविजेता टिमले क्रमश ः नगद ५ लाख र ३ लाख रुपियाँ प्राप्त गर्नेछ । 
Powered by Blogger.