भत्किने भो २५ मिटरभित्रका निजी संरचना
हेटौंडा, १७ पुस/डिभिजन सडक कार्यालय हेटौंडाले राजमार्ग÷राजपथको दायाबायाँ २५÷२५ मिटरको सडक सीमा अतिक्रमण गरी बनाइएको संरचनाहरु १५ दिन भित्र हटाउन सूचना जारी गरेको छ । केहीदिन देखि सडक सीमा मिचेर बनाइएका मकवानपुरका सरकारी कार्यालयको संरचना भत्काउन सुरु गरेको सडक कार्यालयले अब निजी क्षेत्रका संरचना समेत भत्काउने भएको छ । डिभिजन सडक कार्यालय हेटौंडाको कार्यक्षेत्र महेन्द्रराजमार्गको धन्सार पुल (बारा) देखि लोथर (मकवानपुर) तथा त्रिभुवन राजपथको वीरगंज भन्सार (पर्सा) देखि दामेचौर (मकवानपुर) सम्मको राजमार्ग÷राजपथको दायाबायाँ २५÷२५ मिटरको सडक सीमाको अतिक्रमण १५ दिन भित्र हटाउन आइतबार सूचना जारी गरेको हो । कार्यालय प्रमुख कमलेश कर्णद्वारा प्रकाशित सूचनामा अटेर गरी आदेश कार्यान्वयन नगरे सार्वजनिक सडक ऐन अनुसार कारवाही हुने समेत उल्लेख गरिएको छ । यसअघि पनि पटक पटक जारी गरिएको सूचना अनुसार भए÷गरेको नपाइएकोले यो सूचना प्रकाशित गरिएको डिभिजन सडक कार्यालयका सूचना अधिकारी जयराम अधिकारीले जानकारी दिए ।
‘१५ दिनभित्रमा निजी संरचनाहरु भत्काउनको लागि यो सूचना जारी गरिएको हो । मुआब्जा पाउन बाँकी रहेकाहरुले पाउनेछन्’, उनले भने, ‘अतिक्रमण गरी बनाइएका संरचनाहरु उहाँहरुले नै भत्काउनुहुनेछ भन्ने हामीलाई विश्वास रहेको छ ।’ भत्काउन आलटाल गरेमा कानुन अनुरुपको कदम चालिने उनले बताए ।
‘हामी नियम अनुसार जान्छौं । यो अभियान रोकिदैन, सबैको साथ र सहयोग पाउने अपेक्षा लिएका छौं’, अधिकारीले भने ।

