एपीएफलाई हराउँदै मनाङ सेमीफाइनलमा
हेटौंडा, १७ पुस/सुमन भोम्जन स्मृति खेलकुद प्रतिष्ठानको आयोजनामा हेटौंडामा सञ्चालन भैरहेको अन्तर्राष्ट्रिय आमन्त्रण हेटौंडा गोल्डकप फुटबल प्रतियोगिता अन्तर्गत आइतबारको खेलमा मनाङ मस्र्याङ्दी क्लव विजयी भएको छ ।
केही दिन अघि मात्र सम्पन्न भएको सातौं राष्ट्रिय खेलकुदमा पुरुष फुटबलतर्फ स्वर्ण पदक जित्न सफल सशस्त्र प्रहरीको नेपाल एपीएफ क्लवलाई ३–२ गोल
अन्तरले हराउँदै मनाङ मस्र्याङ्दी क्लव सेमीफाइनलमा प्रवेश गरेको हो । मनाङ मस्र्याङ्दीका लागि ३ गोल नै विदेशी खेलाडीको नाममा रह्यो । ३२ औं मिनेटमा कप्तान सुजल श्रेष्ठले प्रहार गरेको फ्री–किकको सदुपयोग गर्दै सिसेकोले मनाङको लागि पहिलो गोल गरेका हुन् । खेलको ५५ औं मिनेटमा सुजलले दोहोरो पहेँलो कार्ड पाउँदै मैदानबाट बाहिरिएपछि १० जना खेलाडीमा सीमित भएको मनाङका लागि ६६ औं मिनेटमा ओलावालेले उत्कृष्ट गोल गरे ।
अनिल गुरुङको पासमा ओलावालेले नै ८४ औं मिनेटमा गोल गर्दै खेललाई ३–० को अवस्थामा पु¥याएका थिए । निकै दवावमा रहेको एपीएफको तर्फबाट ८८ औं मिनेटमा अञ्जन बिष्टले गोल गरे । खेलको अन्तिम अवस्थामा निकै सुधारिएको खेल प्रस्तुत गरेको एपीएफका लागि अतिरिक्त समयको तेस्रो मिनेटमा अञ्जनले नै व्यक्तिगत दोस्रो गोल गरेपनि हारबाट बचाउन सकेनन् । खेलको म्यान अफ दी म्याच मनाङका डोना थापा घोषित भए ।
एपीएफका प्रशिक्षक रत्नकाजी महर्जनले १० दिनको बीचमा ६ वटा म्याच खेलेका आफ्ना खेलाडी थाकेका कारण सोचे अनुरुपको खेल प्रस्तुत गर्न नसकेको प्रतिक्रिया दिए । समयमै स्कोर निकाल्न नसक्दा हार व्यहोर्नुपरेको उनले बताए ।
थकित अवस्थाका खेलाडीहरुले दिएको प्रस्तुती प्रति आफू सन्तुष्ट रहेको प्रशिक्षक महर्जनको भनाई छ । यस्तै मनाङका प्रशिक्षक छिरिङ लोप्साङले आफ्ना केही खेलाडीहरु परिवर्तन भएका कारण तालमेल मिल्न गाह्रो परेको प्रतिक्रिया दिए । ‘एपीएफले पनि सोचेको जति खेल्न सकेन । हाम्रा खेलाडीमा पनि तालमेलको अभाव देखियो’, उनले भने, ‘अन्तिम अवस्थामा आएर सोचेजति खेल्न सकेन ।’
जारी प्रतियोगितामा आज सोमबार संकटा र भूटानको डुकस्टार एफसीको बीचमा खेल हुनेछ । २३ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले ५ लाख र उपविजेताले ३ लाख रुपियाँ प्राप्त गर्नेछ ।

