पिपरा गोल्डकपमा मकवानपुर सेमिफाइनलमा
हेटौंडा, ९ माघ/बाराको पिपरामा सञ्चालन भैरहेको प्रथम पिपरा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा मकवानपुर–११ फुटबल टीम प्रवेश गरेको छ ।
शनिबार भएको अन्तिम आठको खेलमा महोत्तरीको फुटबल एकेडेमीलाई टाइब्रेकरमा ४–२ गोलअन्तरले पराजित गर्दै मकवानपुर–११ सेमिफाइनल प्रवेश गरेको हो । निर्धारित समयमा १–१ गोलको बराबरीमा खेल सकिएपछि नतिजाको लागि टाइब्रेकरको सहारा लिइएको थियो । टाइब्रेकरमा मकवानपुर गोलरक्षक अशोक बरालले उत्कृष्ट प्रदर्शन गरे । उनले विपक्षीको दुईवटा प्रहार रोके । मकवानपुरका लागि टाइब्रेकरमा रवि भण्डारी, सुशान लामा, सुरज बिष्ट र सुमन आलेमगरले गोल गरेका थिए । निर्धारित समयको ५५ औं मिनेटमा मकवानपुरका लागि सुरज बिष्टले गोल गर्दै अग्रता दिलाएका थिए । महोत्तरीले खेल सकिन केही समय बाँकी रहेको अवस्थामा गोल गर्दै खेललाई बराबरीमा फर्काएका थिए ।
मकवानपुरले सशस्त्र प्रहरीको एपीएफ पिलुवा र लालबन्दी स्पोर्टस् कलब सर्लाहीबीचको विजेतासंग फाइनल प्रवेशका लागि बुधबार प्रतिस्पर्धा गर्नेछ । पाएको अवसरलाई सदुपयोग गर्न नसक्दा कठिन जीत निस्केको मकवानपुर–११ का प्रशिक्षक विजयलाल श्रेष्ठले प्रतिक्रिया दिए ।

