Header Ads


हेटौंडामा आजबाट राष्ट्रिय एमेच्योर बुद्धिचाल

हेटौंडा, १६ माघ/नेपाल बुद्धिचाल संघ र नेपाल खेलकुद महासंघ मकवानपुरको संयुक्त आयोजनामा आज सोमबारबाट हेटौंडामा प्रेमबहादुर मगर स्मृति चौथो राष्ट्रिय एमेच्योर २००० फिडे रेटिङ चेस प्रतियोगिता–२०१७  सञ्चालन हुँदैछ ।
आगामी माघ २१ गते शुक्रबारसम्म सञ्चालन हुने प्रतियोगितामा देशभरबाट करिब ४० जना खेलाडी सहभागी हुने आयोजकले आइतबार हेटौंडामा पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिएको छ । पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार प्रतियोगिताको विजेताले इटालीमा हुने २००० रेटिङको अन्तर्राष्ट्रिय बुद्धिचाल प्रतियोगितामा सहभागी हुने अवसर प्राप्त गर्नेछन् । 
नेपाल बुद्धिचाल संघका सचिव तथा खेलकुद महासंघ मकवानपुर अध्यक्ष धरम लामाका अनुसार स्वीस लिगअनुसार ९ राउण्डमा सञ्चालन हुने प्रतियोगिताको विजेताले नगद ५० हजार रुपियाँ प्राप्त गर्नेछन् । उपविजेताले नगद १५ हजार रुपियाँ, तेस्रो हुनेले ७ हजार ५ सय रुपियाँ, चौथो र पाँचौ हुनेले क्रमशः ५÷५ हजार रुपियाँ, छैठौंदेखि दशौंस्थानसम्म हाँसिल गर्नेले नगद ३÷३ हजार रुपियाँ प्राप्त गर्नेछन् । स्थानीय खेलाडीमध्ये उत्कृष्ट खेलाडीलाई २ हजार ५ सय रुपियाँ नगद प्रदान गरिने बताइएको छ । प्रतियोगिताको कुल २ लाख ७५ हजार रुपियाँ खर्च मध्ये १ लाख रुपियाँ पुरस्कारमा खर्च हुनेछ । युवा व्यवसायी रामकुमार थापाको प्रायोजनमा हुन लागेको प्रतियोगितामा मकवानपुर जिल्ला खेलकुद विकास समिति, हेटौंडा उपमहानगरपालिका तथा मकवानपुर निर्माण व्यवसायी संघले सहप्रायोजन गरेको छ । प्रतियोगिताको आगामी संस्करणदेखि हेटौंडामा नै वर्षेनी गर्ने बताइएको छ । यसअघि पहिलो संस्करण हेटौंडा, दोस्रो काठमाडौं र तेस्रो ललितपुरमा भएको थियो । 
नेपाल बुद्धिचाल संघ अध्यक्ष एकालाल श्रेष्ठले पत्रकार सम्मेलनमा मकवानपुरलाई चेस हबको रुपमा विकास गर्ने लक्ष्य राखिएको बताए । उनका अनुसार राजधानीबाहिर सबैभन्दा बढी प्रतियोगिता हुने जिल्लाको रुपमा मकवानपुरको विकास गर्ने गरी योजना बनाइरहेको बताए ।
Powered by Blogger.