Header Ads


‘सहीदको सम्मान गर्न सबै दल मिल्नुपर्ने’

हेटौंडा, १६ माघ/नेपाली काँग्रेस केन्द्रीय सदस्य एवम् व्यवस्थाविका संसद् सदस्य महालक्ष्मी उपाध्याय ‘डीना’ले  सहीदको सपना साकार गर्न र उनीहरुको सपना पूरा गर्नका लागि सबै राजनीतिक दलहरु एक हुनु आवश्यक रहेको बताएकी छिन् ।  
सहिद दिवसको सन्दर्भमा आइतबार हेटौडा–११ मा रहेको सहीद स्मारकमा भएको सहीद दिवस बिशेष कार्यक्रममा उनले देशमा विद्यमान राजनीतिक गतिरोध अन्त्य गर्दै समृद्ध मुलुक निर्माणका लागि सबै दलहरु एकै स्थानमा उभिन जरुरी रहेको बताएकी हुन् । ‘देशमा भएको विभिन्न समय परिवर्तनका लागि आफ्नो ज्यान गुमाएका सहिदहरुको सम्मानका लागि सबै मिलेर राष्ट्रलाई अगाडि बढाउनुको विकल्प छैन’, उनले भनिन्, ‘विभिन्न नाम वा बहानामा हामी राजनीतिक दल विभाजित हुँदा सहीदका सपनाहरु अधुरा अनि अपुरा भैरहेका छन् ।’ उनले तत्कालिन अवस्थामा देशलाई निकास दिनका लागि सबै दल एकै कित्तामा उभिएर स्थानीय निकायको निर्वाचन गर्न जरुरी रहेकोमा जोड दिइन् । डीनाले केही दिनभित्र स्थानीय निकायको निर्वाचन घोषणा हुने सम्भावना रहेको बताउँदै यसका लागि तयार रहन सबैलाई अनुरोध गरिन् । हेटौंडा ११ मा रहेको सहीद स्मारक गेटबाट सुरु भएको प्रभातफेरी स्मारकस्थित सहीद पार्कमा पुगेर प्रवचनमा टुंगिएको थियो । प्रवचनमा राप्रपा केन्द्रीय सदस्य नवराज बिष्ट, प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद शर्मा दुवाडी, स्मारक विकास समिति सदस्य देबप्रसाद श्रेष्ठलगायतले राष्ट्रको लागि सहीद भएकाहरुको सपना पूरा गर्नका लागि सबै राजनीतिक दल एक ठाउँमा उभिनु आवश्यक रहेको र राष्ट्र निर्माणमा लाग्नु आवश्यक रहेकोमा जोड दिएका थिए ।
Powered by Blogger.