Header Ads


बिद्युत चोरीमा संलग्नलाई कारबाही गर्न युवा अभियानको माग

हेटौंडा, १३ माघ/नयाँ शक्ति पार्टी निकटको राष्ट्रिय युवा अभियान मकवानपुरले विद्युत प्राधिकरणका 
कर्मचारीको मिलेमतोमा भएको विद्युत चोरीको घटनामा संलग्नलाई कारबाही गर्न माग गरेको छ । 
राज्यलाई ठग्दै बर्षौंदेखि मकवानपुरमा विद्युत चोरीको घटना भैरहेको तथ्य सार्वजनिक भएको भन्दै युवा अभियानले दोषी सबैलाई हदैसम्मको कारबाहीको माग गरेको हो । हेटौंडा–२२ हटियामा रहेको शिवम् सिमेण्ट प्रालिले ७ लाख २३ हजार युनिट बिजुली चोरी गरेको रहस्य खुलेको पाइएकोले शिवम्लाई पनि कारबाहीको दायरामा ल्याउनुपर्ने माग गरिएको छ ।
‘देशकै प्रतिष्ठित उद्योगबाट राज्य लुट्ने कार्य हुनु दुखद् हो’, राष्ट्रिय युवा अभियान मकवानपुर अध्यक्ष सुदीप कार्कीद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा भनिएको छ, ‘यो घटना जिल्लाबासीको लागि समेत लज्जाष्पद घटना हो ।’ 
भ्रष्टाचार रहित समाज निर्माणको लागि राष्ट्रिय युवा अभियान सदैव सकृय रहेको भन्दै उनले यस घटनामा संलग्न जो कोहीलाई पनि कानुनी कारबाही आवश्यक रहेकोमा जोड दिएको छ । बिद्युत चोरी गरी हेटौंडाको शिवम् सिमेण्टसहित देशैभरका विभिन्न उद्योगलाई वितरण गरेको भन्दै प्रहरीले केही दिन अघि नेपाल विद्युत प्राधिकरण हेटौंडाका मिटर रिडर महादेव प्रधानसहित १६ जनालाई पक्राउ गरेको छ । 
Powered by Blogger.