शिक्षा पत्रकारिता पुरस्कारबाट रेडियो मकवानपुर पुरस्कृत
हेटौंडा, १९ पुस/नेपाल पत्रकार महासंघले प्रदान गर्दै आएको शिक्षा पत्रकारिता पुरस्कार–२०७२ बाट हेटौंडाकै पहिलो सामुदायिक रेडियो, रेडियो मकवानपुर पुरस्कृत भएको छ ।
२०७२ सालको शिक्षा पत्रकारिता पुरस्कार प्राप्त गर्ने पत्रकार तथा सञ्चारमाध्यमलाई मंगलबार पुरस्कार वितरण गरिएको थियो । सोही कार्यक्रमकाबीच रेडियो मकवानपुरका स्टेसन संयोजक राममणि दाहालले पुरस्कार ग्रहण गरेका हुन् । महासंघ केन्द्रीय कार्यालयमा आयोजित एक विशेष कार्यक्रमका बीच शिक्षा राज्यमन्त्री धनमाया विक, महासंघका अध्यक्ष डा. महेन्द्र विष्ट, शिक्षा सचिव शान्तबहादुर श्रेष्ठ र शिक्षा विभागका महानिर्देशक बाबुराम पौडेलले पुरस्कार प्रदान गरेका हुन् । संस्थागत शिक्षा पत्रकारिता पुरस्कार–२०७२ मध्यमाञ्चलबाट रेडियो मकवानपुर र रेडियो रसुवा (रसुवा) लाई संयुक्त रुपमा प्रदान गरिएको हो ।
पुरस्कारको राशी नगद २० हजार रुपियाँ रहेको छ । पुरस्कार वितरण गर्दै शिक्षा राज्यमन्त्री धनमाया विकले पुरस्कृत पत्रकार तथा सञ्चार माध्यमलाई बधाई तथा शुभकामना दिँदै सकारात्मक कामको
सकारात्मक ढंगबाट समाचार संप्रेषण गरी जनतालाई सत्यतथ्य सूचना प्रदान गर्न सुझाव दिइन् ।
महासंघका अध्यक्ष डा. महेन्द्र विष्टले पुरस्कृत पत्रकारहरू बधाई दिँदै शिक्षा पत्रकारितामा अझ डटेर लाग्न शुभकामना दिए । पुरस्कृत भएको रेडियो मकवानपुरका स्टेशन कोर्डिनेटर राममणी दाहालले पुरस्कारले आगामी दिनमा निरन्तर आवाजविहीनहरुको आवाज बन्ने उत्प्रेरणा दिएको प्रतिक्रिया दिए । सामुदायिक रेडियो भएको नाताले सामाजिक गतिविधिलाई समेट्दै आएको रेडियोले आगामी दिनमा अझै ग्रामीण
दुरदराजका समस्या एवम् आवाजलाई प्राथमिकता दिएर आफ्ना कार्यक्रम एवम् समाचारलाई निरन्तता दिंदै जाने बताए ।

