Header Ads


हाँडीखोला ३ र ४ मा घरघरमै पानी

हेटौंडा, २४ पुस/विगत लामो समयदेखि खानेपानीको दुःख झेल्दै आएका मकवानपुरको हाँडीखोला–४ र ३ नम्बर वडाका बासिन्दाहरु यतिबेला निकै खुसी छन् । 
२ देखि ३ घण्टासम्म धाएर खोल्साबाट खानेपानी ल्याउन बाध्य भएकाहरु अहिले घरघरमै पानी आउन थालेपछि निकै हर्षित छन् । सिमलताल खानेपानी तथा सरसफाई उपभोक्ता समितिबाट निर्माण भएको आयोजनाबाट हाँडीखोला–४ र ३ नम्बर वडाका करिब ३ सय घरधुरी लाभान्वित भएका छन् । 
हालसम्म २५ वटा धारा वितरण भएको उपभोक्ता समितिका अध्यक्ष हिरालाल स्याङ्तानले बताए । ‘बर्षौंदेखि धमिलो र फोहोर पानी खान बाध्य यहाँका बान्दिालाई खानेपानी तथा ढल निकास विभाग तथा डिभिजन खानेपानी कार्यालयको आर्थिक सहयोगमा आयोजना सम्पन्न भएपछि धेरै राहत मिलेको छ’, उनले भने, ‘अहिले २५ वटा धारा वितरण भएको छ । 
धारामा २४ घण्टा नै पानी आइरहेको छ । आवश्यकता अनुसार धारा सङ्ख्या थपिँदै जानेछ ।’ बि.सं २०६५ सालबाट निर्माण कार्य सुरु गरेको यस आयोजना २०७० सम्म सम्पन्न गर्ने लक्ष्य राखिएको भएपनि विभिन्न समस्याको कारण ढिलो भएको उनले जानकारी दिए । 
‘हामी अहिले परीक्षणको क्रममा नै रहेका छौं । २४ घण्टै धारामा पानी आउँदा स्थानीय निकै खुसी छन्’, उपभोक्ता समितिका सचिव किरण मोक्तानले जानकारी दिंदै भने, ‘पानी पुग्दो छ । हामी रेगुलर २४ घण्टा नै सबैको घरघरमा पुग्ने गरी पानी वितरण गर्न सक्षम छौं ।’ 
अधिकांश तामाङ समुदायको बाहुल्यता रहेको हाँडीखोला–४ र ३ नम्बर वडाका बासिन्दाले बर्षौंदेखि खेप्दै आएको समस्या हल भएकोमा निकै खुसी लागेको सचिव मोक्तानले सुनाए । 
यसअघि निर्माण भैसकेका खानेपानी ट्याङ्की तथा पाइपहरुमा समेत भूकम्पको कारण क्षती पुगेकोले अहिलेदेखि नै केही समस्या देखिन थालेको भन्दै उनले यस बिषयमा डिभिजन खानेपानी तथा सरसफाई कार्यालयमा यस बिषयमा जानकारी गराइएको बताए । 
Powered by Blogger.