Header Ads


हेटौंडा गोल्डकपको सेमीफाइनल समिकरण पूरा

हेटौंडा, २० पुस/हेटौंडामा जारी अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल प्रतियोगितामा सेमीफाइनल समिकरण पूरा भएको छ । 
बुधबार काठमाण्डौंको संकटा क्लवलाई हराउँदै नेपाल आर्मी सेमीफाइनल प्रवेश गरेसंगै सेमीफाइनल समिकरण पूरा भएको हो । गत बर्षको उपविजेता आर्मीले संकटासंग २–० को जित निकालेको छ । खेलको ४० औं मिनेटमा सुमन अर्यालको फ्रि–किकलाई सदुपयोग गर्दै आर्मीका स्ट्राइकर नवयुग श्रेष्ठले हेड मार्फत गोल गरेका हुन् । यस्तै ७२ औं मिनेटमा दीप लामाले अग्रता दोब्बर पारे । नवयुग श्रेष्ठको पासलाई उनले पोष्टको दिशा दिएका हुन् । यसअघि ११ औं मिनेटमा आर्मीका कप्तान भरत खवासको प्रहारलाई संकटाका किपर विशाल श्रेष्ठले बचाउ गरेका थिए । यस्तै ६५ औं मिनेटमा संकटाका किपर अगाडी बढेको मौका छोप्दै आर्मीका दीप लामाले गरेको प्रहार पोष्ट नजिकैबाट बाहिरिएको थियो । ७८ औं मिनेटमा आर्मीकै टंक बस्नेतले पोष्ट नजिकैबाट गरेको प्रहार पोष्ट माथिबाट बारिहरिएको थियो । यता संकटाले गोल गर्ने अवसरको खासै सृजना गर्न सकेन । ८९ औं मिनेटमा संकटाका सुशील केसीको वान भर्सेज वान प्रहार आर्मीका किपर सुशील श्रीवास्तवले रोकेका थिए । आर्मीका चर्चित खेलाडीहरु नवयुग श्रेष्ठ र भरत खवासले खासै उत्कृष्ट खेल खेल्न सकेनन् । खेलमा आर्मीका सन्तोष तामाङले म्यान अफ दी घोषित हुँदै नगद ३ हजारसहित ट्रफी प्राप्त गरे । संकटाका प्रशिक्षक शैलेश कर्माचार्यले लगातारको खेलको कारण आफ्ना खेलाडीले राम्रो खेल खेल्न नसकेको प्रतिक्रिया दिए । ‘खेलाडी सबै थकित छन् । खेलको तालमेल नै मिल्न सकेन’, उनले भने । 
यता आर्मीका प्रशिक्षक नवीन न्यौपानेले संकटाका खेलाडी थकित हुनुको फाइदा आर्मीलाई पुगेको प्रतिक्रिया दिए । ‘सुरुवातीको १०÷१५ मिनेटमा नै अग्रता लिने लक्ष्यका साथ खेलाडी मैदानमा उत्रिएको थियो, तर त्यसो हुन सकेन’, उनले भने, ‘कन्टिन्यूको म्याच’का कारण नाम चलेका हाम्रा खेलाडीले दर्शकले चाहेको जस्तो गेम खेल्न सकेनन् ।’ 
गत बर्ष उपविजेता भएको आर्मी यसपाली विजेता बन्ने उद्देश्यका साथ आएको प्रशिक्षक न्यौपानेले बताए । जारी प्रतियोगितामा आज बिहीबार साविक विजेता मनाङमस्र्याङ्दी र पोखराको साहारा क्लवको बीचमा पहिलो सेमीफाइनल खेल हुनेछ भने शुक्रबार हेटौंडाको विजय यूथ क्लव र नेपाल आर्मीको बीचमा खेल हुनेछ । २३ गते शनिबारसम्म सञ्चालन हुने प्रतियोगिताको विजेता र उपविजेताले क्रमश ः नगद ५ लाख र ३ लाखसहित ट्रफी हात पार्नेछन् । २०७२ बैशाखको विनाशकारी भूकम्पमा निधन भएका मकवानपुरे खेलपत्रकार सुमन भोम्जनको स्मृतिमा गठन भएको खेलकुद प्रतिष्ठानले गत बर्षबाट हेटौंडा गोल्डकप फुटबल सुरु गरेको हो ।  
Powered by Blogger.